साउदीमा मृत्युदण्डको सट्टा जेल सजाय

रियाद(एजेन्सी) । साउदी अरबले गैर–वयस्कलाई उनीहरुको अपराधका लागि दिइँदै आएको मृत्युदण्ड सजायलाई रोक लगाएको छ । देशको मानवअधिकार आयोगले साउदी राजा सलमानको हवाला दिँदै यो कुराको जानकारी दिएको हो । दुई दिन पहिले त्यहाँको सर्वोच्च अदालतले दोषीलाई कोर्रा लगाउने सजायमाथि प्रतिबन्ध लगाएको थियो ।

बाल अधिकारको विषयलाई लिएर साउदी अरबले संयुक्त राष्ट्रसंघको सम्मेलनमा हस्ताक्षर गरेको छ । यो सम्मेलन अनुसार गैर वयस्कलाई उनीहरुको अपराधका लागि मृत्युदण्डको सजाय दिन पाइँदैन । मानव अधिकारकर्मीले मानवअधिकारको हननका मामलामा साउदी अरब विश्वकै सबैभन्दा खराब मुलुक रहेको बताउँदै आएका छन् ।

यहाँ अभिव्यक्ति स्वतन्त्रता पूर्ण रुपमा दबाइएको छ र सरकारको आलोचना गर्ने व्यक्तिलाई पक्राउ गरिन्छ । मावन अधिकार समूह एमनेस्टी इन्टरनेशनलका अनुसार सन् २०१९ मा साउदीमा १ सय ८४ जनालाई मृत्युदण्डको सजाय भएको थियो । समूहले यसमा अपराध गरेको समयमा वयस्क नभएका एक व्यक्तिलाई पनि मृत्युदण्ड दिइएको थियो ।

सरकार समर्थिन मानव अधिकार आयोगका अध्यक्ष अव्वाद अलावदले शाही आदेशले गैर वयस्कलाई उनीहरुको अपराधका लागि मृत्युदण्डको सट्टा १० वर्ष जेल सजायको व्यवस्था गरिएको बताए । ‘यो आदेश हामीलाई आधुनिक प्यानल कोड बनाउनका लागि सहयोगसिद्ध हुनेछ’, उनले भनेका छन् । तर यो निर्णय कहिलेदेखि कार्यान्वयन हुन्छ भन्ने कुराको केही जानकारी दिइएको छैन । इस्ताम्बुलस्थित साउदी दुतावासमा सन् २०१८ मा पत्रकरा जमाल खाशोज्जीको हत्या भएपछि साउदी अरबको मानव अधिकार रेकर्डमा ध्यानपूर्वक हेर्न थालिएको छ । साउदीमा कैयौं नागरिक र महिला अधिकारकर्मी अहिले जेलमा छन् ।

यो साताको शुरुवातमा साउदीका प्रमुख मानव अधिकारकर्मीको जेलमै हृदयघातका कारण निधन भएको थियो । उनका साथीहरुले प्रशासनले मेडिकल लापरवाहीका कारण उनको ज्यान गएको दाबी गर्दै आएका छन् ।