लकडाउनपछि एक्सनमा उत्रदै सलमान

मुम्बई(एजेन्सी) । कोरोनाका कारण लकडाउन गरिएपछि विश्वव्यापी रुपमा मानिसहरु घरमा नै बसिरहेका छन् । बलिउडका स्टारहरु पनि यो दिनमा ग्ल्यामरवाला नभई आम मानिसको जस्तै जिन्दगी बाँचिरहेका छन् । अभिनेता सलमान खान दुई दिनको बिदा मनाउनका लागि पनवेल गएका थिए, तर अचानक लकडाउन घोषणा भएपछि उनी आफ्नै फार्महाउसमा बसिरहेका छन् । लकडाउन घोषणा हुँदा सलमान आफ्नो नयाँ फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’को सुटिङमा व्यस्त थिए ।

समाचारअनुसार फिल्मको केही एक्सन दृश्य सुटिङ गर्न बाँकी छ । त्यसकारण पनि सलमान लकडाउनको समयमा फिटनेसमा पुरै ध्यान दिइरहेका छन् । उनी नियमित रुपमा आफ्नो वजन जाँच गरिरहेका छन् र जिममा पसिना पनि बगाइरहेका छन् । सलमान लकडाउनमा फलफूल र सागसब्जी खानमा विशेष ध्यान दिइरहेका छन् ।

फिल्मको केही कार चेन्जिङ दृश्य खिच्न बाँकी रहेको निर्माण पक्षले जनाएको छ । जुन काम लकडाउन सकिनासाथ सुरु हुनेछ । प्रभु देवा निर्देशित फिल्म ‘राधे’ यो इदमा रिलिज हुने तयारीमा थियो । तर यो इदमा फिल्म रिलिज हुने सम्भावना करिब करिब टरेको छ । किनकी कोरोना भाइरसको कहरका कारण देशभरका फिल्म हल बन्द छन् ।