छोटो पहिरनले चर्चामा अमिताभ

मुम्बई(एजेन्सी) । बलिउड सुपरस्टार अमिताभ बच्चन सामाजिक सन्जालका कारण सञ्चारमाध्यममा छाइ रहन्छन् । उनी सामाजिक सन्जालमा यति सक्रिय हुन्छन् कि उनको कुनै न कुनै पोस्टले बच्चनलाई चर्चामा ल्यइरहन्छ । सामाजिक सन्जालमा फ्यानसँग कसरी जोडिइरहने भन्ने कुशलता केबल अमिताभसँग मात्र छ । हालैमात्र अमिताभले एक तस्बिर इन्स्टाग्राममा राखेका थिए, जसकारण उनी पुनः चर्चामा आएका छन् । सायदै त उनले यस्तो तस्बिर सार्वजनिक गरेको यो पहिलोपटक हुनसक्छ ।

अमिताभले इन्स्टाग्राममा तीन कोलाज तस्बिर शेयर गरेका छन् । यो तस्बिरको विशेष कुरा अमिताभ भन्दा पनि उनले लगाएको कपडा हो । उनले शेयर गरेको तस्बिरमा उनले कम्मरदेखि तलको भाग पूर्ण रुपले छोपिने कपडा लगाएका छैनन् । उनले अन्डर गार्मेन्ट्स मात्र लगाएका छन् । यो उनले फिल्म ‘महान’को सुटिङ ताका लगाएको पहिरन हो । जुन फिल्म रिलिज भएको ३७ वर्ष पुरा भएको छ ।

अमिताभले आफ्नो तस्बिरका साथ क्याप्सन पनि लेखेका छन् । जुन क्याप्सनमा फ्यानको ध्यान गएको छ । उनले आफूले इन्स्टाग्राममा फलोअर्स बढाउनका लागि यो तरिका अपनाएको बताएका छन् । उनको यो हाँस्यास्पद शैलीलाई उनका फ्यानले निकै रुचाएका छन् । ‘कोही मलाई युवा कलाकारको जस्तो इन्स्टाग्राम फलोअर्स किन बढिरहेको छैन भनेर सुनाइरहेको थियो । मैले उसलाई कारण सोध्दा उनले मलाई बिकिनी फोटो शेयर नगरेको कारण यो अवस्था आएको बताए । त्यसपछि मात्र मलाई यो विकिनी नभएको सम्झना आयो । यो भरीभराउ किनी हो । यो फिल्म ‘महान’को समयमा खिचिएको हो । जसमा तीन रोल थिए । यो फिल्म रिलिज भएको ३७ वर्ष भयो’, उनले लेखेका छन् ।

अमिताभ ट्वीटरका साथै इन्स्टाग्राममा पनि सक्रिय छन् । ट्वीटरमा उनी बढी समाचारसँग जोडिएका हुन्छन् । केही दिनदेखि उनी आफ्नो ट्वीटका कारण ट्रोलरको सामना पनि गर्नु परिरहेको छ ।