मुम्बई(एजेन्सी) । बलिउड बादशाह शाहरुख खान फिल्म उद्योगमा आफ्नो अभिनय र व्यक्तित्वका कारण चिनिन्छन् । उनको स्टाइल र मुस्कान करोडौं फ्यानका लागि चित्ताकर्षक छ । उनले सिक्स प्याक बनाउँदा त झन् उनका लागि मरिहत्ते गर्ने विशेष युवती फ्यानको जमात नै बढ्यो ।
शाहरुखले सन् २००७ मा रिलिज फिल्म ‘ओम शान्ति ओम’मा पहिलोपटक आफ्नो सिक्स प्याक देखाएका थिए । तर उनले किन सिक्स प्याक बनाए भन्ने एउटा रोचक घटना छ । जुन कुराको जानकारी शाहरुखले करण जोहारको चर्चित टक शो ‘कफी विथ करण’मा दिएका थिए । ‘सिक्स प्याक एब्स बनाउनको पछाडिको कारण छोरा आर्यन हो । उसकै कारण यो सबै भएको हो । मैले यो एब्स फिल्मका लागि नभई मेरो छोरो आर्यनको बेइज्जतीको बदला लिन बनाएको थिएँ’, उनले भनेका छन् ।
आर्यनको बेइज्जत कसरी भयो भनी करणले सोधेको प्रश्नमा शाहरुखले त्यसको जवाफ पनि दिएका छन् । ‘आर्यन ९ वर्षको हुँदा ऊ निकै मोटो थियो । त्यसकारण पनि ऊ उदास देखिन्थ्यो । त्यसकारण उसले विद्यालयमा धेरै झगडा पनि गर्नुपर्यो’, उनले भनेका छन्, ‘स्कुलमा एक युवतीले आर्यनसँग मेरो बारेमा केही अपशब्द बोलेकी रहिछन् । उसले त्यो बेला चुप लागेर कुनै प्रतिक्रिया दिएन । त्यो युवतीले म ‘कौन बनेगा करोडपति’ मा कुरुप देखिएँ भन्ने प्रतिक्रिया दिँदा पनि आर्यन चुप नै लागेछ । तर जब उसले तिम्रो बाबु मोटो छन् भनिछिन्, त्यसपछि आर्यनले उसलाई हिर्काएछ । यो सुनेपछि मैले आर्यनलाई पिटें ।’
त्यसपछि आर्यनले यो कुरामा त्यो केटीको गल्ती नभई शाहरुखको गल्ती भएको बताएका थिए । ‘यो घटनपछि मैले आफूलाई पूर्ण रुपमा बदल्ने सोच लिएँ । त्यसपछि मैले आफ्नो सिक्सप्याक एब्स बनाएँ । त्यही एब्सलाई मैले फिल्म ‘ओम शान्ति ओम’को गीत ‘दर्द ए डिस्को’मा देखाउन पाएँ । यो गीत सुपरहिट भयो । त्यसपछि मैले सन् २०१४ मा रिलिज फिल्म ‘ह्याप्पी न्यू इयर’मा ८ प्याक एब्स बनाएर सबैलाई चकित बनाइदिएँ’, शाहरुखले भनेका छन् ।