अलबिदा इरफान खान

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा बुधबार निधन भएको छ । फिल्म निर्देशन सुजित सरकारले उनको निधनको पुष्टि ट्वीटरमार्फत गरेका हुन् । ‘मेरो प्रिय साथी इरफान तिमी लड्यौ, लड्यौ र धेरै लड्यौ । म तिमीप्रति जहिल्यै गर्व महशुस गर्नेछु । शान्ति र ओम शान्ति । इरफान खान तिमीलाई सलाम’, सुजितले ट्वीटेका छन् ।

मंगलबार मात्र मस्वास्थ्य अवस्था बिग्रिएपछि मुम्बईको कोकिलाबेन अस्पतालको आइसीयूमा उनलाई भर्ना गरिएको थियो । उनको स्वास्थ्य किन बिग्रियो, के समस्या थियो र आइसीयूमा किन भर्ना गरियो भन्ने विषयमा अस्पताल र आफन्तले कुनै आधिकारिक जानकारी दिएका थिएनन् ।

इरफानका एक प्रवक्ताका अनुसार उनलाई कोलन इन्फेक्सन भएको थियो । इरफान गत वर्ष लण्डनमा उपचार गरेपछि भारत फर्किएका थिए । भारत फर्किएपछि कोकिलाबेन अस्पतालका चिकित्सकको रेखदेखमा उनको उपचार भइरहेको थियो । फिल्म ‘अंग्रेजी मिडियम’को सुटिङको समयमा पनि उनको स्वास्थ्य अवस्था बिग्रिरहेको थियो ।

यस्तो अवस्थामा कैयौंपटक फिल्म युनिटले सुटिङ रोक्नुपरेको थियो । उनी स्वस्थ महशुस हुनासाथ सुटिङ शुरु हुन्थ्यो । उनको आमा सइदा बेगमको केही दिन अघि मात्र जयपुरमा निधन भएको थियो । तर लकडाउनका कारण इरफान आफ्नो आमाको अन्तिम संस्कारमा सहभागी हुन पाएनन् । उनले भिडियो कन्फरेन्समार्फत आमाको अन्तिम संस्कार हेरेका थिए ।

इरफान न्यूरोएन्डोक्राइन ट्यूमरबाट पीडित थिए । दुई वर्ष अघि मार्च २०१८ मा इरफानको रोगको पत्ता लागेको थियो । यो कुरा इरफानले आफैं सामाजिक सन्जालमार्फत जानकारी दिएका थिए । उनी रोगको उपचारकै लागि लण्डनमा एक वर्ष बसेका थिए । उनले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमसहित हलिउडका स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईमा पनि अभिनय गरेका थिए ।