लकडाउनमा थ्री इडियट्सको रेकर्ड

मुम्बई(एजेन्सी) । कोरोना भाइरसका कारण लागु भएको लकडाउनले आम मानिसहरु फिल्म हल, रेष्टुरेन्ट र व्यापारिक मललाई मिस गरिरहेका छन् । लकडाउनका कारण टेलिभिजनले रामायण, महाभारत र शक्तिमान जस्ता कैयौं कार्यक्रमको पुनः प्रसारण गरिरहेको छ । यही समयमा बलिउड सुपरस्टार आमिर खानको फिल्म ‘थ्री इडियट्स’ले एउटा नयाँ रेकर्ड राखेको छ ।

सन् २००९ मा रिलिज यो फिल्मले बक्सअफिसमा मात्र होइन, दर्शकको मनमा पनि धमाल मच्चाएको थियो । यो फिल्मलाई दर्शकले निकै लामो समय मनपराइरहे । अहिले लकडाउनको समयमा पनि यो फिल्मले दर्शकको उत्तिकै माया पाइरहेको छ । लकडाउनको समयमा यो फिल्म अमेरिकामा सर्वाधिक हेरिएको छ ।

फिल्मका निर्देशक राजकुमार हिरानीले आफ्नो फिल्म विश्वव्यापी रुपमा सबैभन्दा बढी हेरिएकोमा खुशी व्यक्त गरेका छन् । ‘यो कुरा सुन्दा खुशी लागिरहेको छ कि ‘थ्री इडियट्स’ फिल्मलाई हामीले एक दशक अघि यति प्रेमले निर्माण गरेका थियौं, त्यो फिल्मले अहिले पनि मानिसहरुको मन जितिरहेको छ ।’ हिरानीले भनेका छन् ।
यो फिल्ममा आमिर खान, आर माधवन, शरमन जोशी, करीना कपूर खान, बोमन इरानी र मोना सिंहजस्ता कलाकारको प्रमुख भूमिकामा अभिनय थियो । यो फिल्म एक भारतीय इन्जिनियरिङ कलेजका तीन छात्रको दोस्ती र उनीहरुको जिन्दगीमा आधारित थियो । फिल्मले मानिसमा जुन कुरा गर्ने इच्छा हुन्छ, त्यसमै मेहनत गर्नुपर्ने सन्देश दिएको थियो ।

विश्वव्यापी सबैभन्दा बढी हेरिने फिल्ममा ‘थ्री इडियट्स’ एकमात्र यस्तो भारतीय फिल्म हो, जुन फिल्म अहिले टपमा छ । आमिरको यो फिल्मसँगै ‘द डार्क नाइट’, ‘एभेन्जर्सः इन्फिनिटी वार’, ‘इन्सेप्शन’, ‘द शशंक रिडम्पशन’, ‘म्यारिज स्टोरी’, ‘द प्लेटफर्म’ जस्ता फिल्म सूचीमा छन् ।