सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई सचिनको सलाम

काठमाडौं । विश्व यतिबेला कोरोना भाइरसको महामारीले आतंकित छ । यो भाइरसबाट नेपालमा ५७ जना संक्रमित भइसकेका छन् । कोरोनाको संक्रमणबाट बच्न विभिन्न उपाय खोजिरहेको बेला गीत संगीतका स्रष्टाहरुले यस सम्बन्धी गीत स्रोता र दर्शकमाझ ल्याइरहेका छन् । यही मेसोमा सचिन सिंहको शब्द र संगीतमा रहेको गीत ‘सलाम’ सार्वजनिक भएको छ । गोपाल रसाइलीको एरेञ्ज, किरण गोर्खाको मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा कोरोनाको कहरमा रातदिन खटिरहने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको कार्यलाई ‘सलाम’ भनिएको छ । ‘यस्तो विषम परिस्थितिमा दिनरात घटिने सबैको हौसला अझ बढाउने र यस सम्बन्धित सचेतनाका लागि गीत सार्वजनिक गरिएको हो’ सचिनले भने । गीतको भिडियोलाई आदर थापाले सम्पादन गरेका छन् ।

सार्वजनिक गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीप श्रेष्ठ, तुलसी घिमिरे, सुनिल थापा, ललित गोले, मिथिला शर्मा, सुरेश कुमार, योगेश्वर अमात्य, एड्रिन प्रधान, थुप्तेन भुटिया, विक्रम पराजुली, सुमनकुमार श्रेष्ठ, थहिना थापा, मदन भुजेल, सञ्जय प्रसाद, अजय राई, योनदेन भुटिया, उमेश उपमा, अनमोल गुरुङ, मेलिना राई, सुनिता लिम्बु प्रधान, धिरेन शाक्य, नरेश भण्डारी, करुण थापा, होमनाथ न्यौपाने, सुनिल मास्के, निर्मल शर्मा, वीेरेन्द्र सिंह, रिऋा सुब्बा, अल्का थापा, हसना शाक्य, राजु तामाङलगायत फिचर्ड छन् ।