लकडाउनले गर्भवतीको संख्या बढ्ने खतरा

न्यूयोर्क(एजेन्सी) । विश्वभरका मुलुक कोरोना भाइरसका कारण लकडाउनमा छन् । धेरैका लागि लकडाउन प्राकृतिक वरदान सरह नै छ । तर यसको नकारात्मक असर पनि उत्तिकै देखिने सम्भावना रहेको विज्ञहरुको बुझाई छ । संयुक्त राष्ट्र जनसंख्या कोषले लकडाउनका कारण निम्न र मध्य आय भएका देशका करिब पाँच करोड महिला आधुनिक गर्भनिरोधक साधनको प्रयोगबाट बञ्चित भइरहेको जनाएको छ । लकडाउनका कारण मुख्य स्वास्थ्य सेवाहरुमा अवरोध भइरहेको र यही कराणले आउने महिनामा अनिच्छा गर्भधारणको करिब ७० लाख मामला बाहिर आउने चेतावनी कोषले दिएको छ ।

यूएनएफपीए र सहयोगीहरुद्वारा जारी गरिएको आँकडा अनुसार कोरोना संकटका कारण बढी संख्यामा महिलाहरु परिवार नियोजनका साधनको पहुँचमा पुग्न असक्षम छन् । जसकारण उनीहरुमा अनिच्छा गर्भधारणको खतरा बढ्दै गएको छ । यतीमात्र होइन लकडाउन कारण महिला हिंसा र अन्य किसिमको शोषणको मामला पनि तिब्र रुपले बढ्ने अध्ययनले जनाएको छ ।

यूएनएफपीएका कार्यकारी निर्देशक नतालिया कानेम नयाँ आकडाले लकडाउनको समयमा विश्वभरीका महिला र युवतीहरुले भोग्नुपर्ने भयावह अवस्थालाई देखाइरहेको बताउँछिन् । ‘कोरोना महामारीले स्त्री र पुरुषबीचको भेदभावको खाडललाई अझ गहिरो बनाउँदैछ । विश्वभरमा लाखौं महिला र युवतीहरु परिवार नियोजनको सुविधा पाउनबाट बञ्चित छन् ।’ उनी भन्छिन् ।

अध्ययन अनुसार विश्वका १ सय १४ निम्न र मध्यम आय भएको देशमा करिब ४५ करोड महिला गर्भनिरोधक साधन प्रयोग गर्छन् । लकडाउनका कारण निम्न र मध्यम आय भएका देशमा करिब चार करोड ७० लाख महिला गर्भनिरोधक साधनको प्रयोगबाट बञ्चित छन् ।