जापानमा बढ्दै कोरोना डिभोर्स

टोकियो(एजेन्सी) । कोरोना भाइरसको महामारीका कारण लागु गरिएको लकडाउनको असर सामाजिक सम्बन्धमा पर्न थालेको छ । लकडाउनका कारण एकसाथ घरमा लामो समय बस्नुपरेपछि श्रीमान–श्रीमतिबीच तनाव बढ्दै गएको समाचार सार्वजनिक हुन थालेका छन् । खास गरी श्रीमतिहरु श्रीमानको बानीलाई मोबाइलले खिचेर सामाजिक सन्जालमा राखेर आफ्नो रिस देखाइरहेका छन् ।

लकडाउनका बीच जापानमा सामाजिक सन्जालमा कोरोना डिभोर्सको प्रचलन अहिले चल्तीमा छ। खास गरी निराश श्रीमतिहरुका लागि सामाजिक सन्जाल ट्वीटर लापरवाही गर्ने श्रीमान प्रति रिस देखाउने प्लेटफर्म बनेको छ । उनीहरुले ट्वीटरमा गर्ने अधिकांश ट्वीट सम्बन्धविच्छेदतर्फ लक्षित छ । ‘मेरा श्रीमान मदिरा पिएर यताउता हिँड्छन् । आफ्नो हात धुँदैनन् र उनलाई किचनमा के गर्नुपर्छ भन्ने पनि थाहा छैन । यस किसिमको मतभेद आम रुपमा श्रीमान–श्रीमतिबीच देखिन्छ । तर मेरा लागि यो विषयले भविष्यको बारेमा गम्भीरतापूर्वक सोच्ने मौका दिएको छ ।’ एक महिलाले ट्वीट गरेकी छन् ।

सम्बन्धविच्छेदको मामलालाई नजिकबाट हेर्ने गरेकी वकिल चाई गोटो पनि आफ्नो ब्लगमा श्रीमान श्रीमतिबीचको समस्याका कुरा लेख्छिन् । ‘वैवाहिक जोडी वर्तमान समयमा यस्तो परिस्थितिको सामना गरिरहेका छन्, जुन यो भन्दा अघि मैले देखेको थिइनँ’, उनले ब्लगमा लेखेकी छन् । लकडाउनका कारण पुरुषहरु या त घरबाट काम गरिरहेका छन् या त उनीहरुको जागिर गइसक्यो । बालबालिकाहरुलाई हर सम्भव घरमा नै बस्न निर्देशन छ । यहाँसम्मकी बिदाको समयमा पनि घर बाहिर निस्कन मनाही छ ।

गोटो लकडाउनका कारण श्रीमानश्रीमति दुवैलाई घर कामकाज गर्ने थलो बनेको बताउछिन् । उनको बुझाईमा घरमै सबै काम गर्नुपर्ने भएपछि पारिवारिक जीवनमा पनि समस्या उत्पन्न हुँदै गएको छ । उनका अनुसार वातावरण बदलिएपछि मानिसहरु तनाव महशुस गर्न थाल्छन् । जसकारण वैवाहिक जीवनमा दरार उत्पन्न हुन थाल्छ ।

एक तथ्यांक अनुसार जापानमा करिब ३५ प्रतिशतको दाम्पत्य जीवन बिग्रिने गरेको छ । यो अनुपात अमेरिकामा सम्बन्धविच्छेद गर्ने ४५ प्रतिशत, ब्रिटेनमा ४१ र चीनमा ३० प्रतिशत छ । तर जापानमा वर्तमान अवस्थामा आगामी दिनमा सम्बन्बविच्छेद गर्नेको संख्या बढ्ने अनुमान गरिएको छ ।  धेरै तनाव महशुस गरिरहेका जोडीका लागि गोटोले केही सुझाव पनि दिएकी छन् । उनले आपसमा खुलेर विचारको आदानप्रदान गर्नु, सँगै खाना बनाउनु, घरको काम मिलीजुली गर्नु, हात धुने नियम बनाउनुले वातावरण सहज हुने सुझाव दिएकी छन् ।