सन्देशले ल्याए प्रेमभावको सँगै

काठमाडौं । गायक तथा संगीतकार सन्देश श्रेष्ठले ‘सँगै’ बोलको म्यूजिक भिडियो बजारमा ल्याएका छन् । यसअघि कोरोना संक्रमणका विरुद्ध अग्रमोर्चामा सक्रिय डाक्टर, नर्स, प्रहरी र पत्रकारलगायत राहत बाड्ने समूहलाई धन्यवाद स्वरुप उनले ‘मेरो सलाम’ गीत सार्वजनिक गरेका थिए ।

गीत ‘सँगै’ले एक जोडीको प्रेमभावलाई प्रस्तुत गरेको छ । गीतमा गोविन्द पौडेलको शब्द तथा सन्देशको संगीत छ । गीतमा दिवस श्रेष्ठको एरेन्ज छ । भिडियोमा समिन श्रेष्ठ, प्रतिभा धमला श्रेष्ठ, मिदास श्रेष्ठ र प्रियंका जोशी श्रेष्ठको अभिनय छ ।

सन्देशले हालसम्म दुई सय भन्दा बढी गीतमा संगीत गरिसकेका छन् भने चार दर्जन गीत गाएका छन् । उनको अन्य म्यूजिक भिडियोहरु पनि युट्युबमा सार्वजनिक भइसकेको छ । यसअघि उनको तीनवटा एल्बम बजारमा आइसकेको छ । सन्देश वरिष्ठ संगीतकार गणेशप्रसाद श्रेष्ठका छोरा हुन् ।