रहेनन् ऋषि कपूर

मुम्बई(एजेन्सी) । बलिउडका दिग्गज अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरका कारण ऋषिको मुम्बईको एचएन रिलायन्स अस्पतालमा निधन भएको हो । उनका भाइ रणधीर कपूरका अनुसार बुधबार बिहान ऋषिलाई अस्पताल भर्ना गरिएको थियो । उनमा श्वासप्रश्वासमा समस्या थियो ।

ऋषिको निधनपछि बलिउड अभिनेता अमिताभ बच्चनसहित कैयौं बलिउड सेलिब्रेटीले ट्वीटरमार्फत श्रद्धाञ्जली दिएका छन् । अमिताभले ट्वीटरमा ‘उनी गए, ऋषि कपुर गए, म खत्तम भएको छु’ भन्दै ट्वीट गरेका थिए । बुधबार अर्का अभिनेता इरफानको निधन भएको थियो । दुई दिनमा देशका भेट्रान कलाकारको निधनले भारत शोकाकुल छ ।

ऋषि कपूर अमेरिकामा करिब १ वर्षको उपचार पछि गत सेप्टेम्बरमा भारत फर्किएका थिए । गत फेब्रुअरीमा स्वास्थ्यमा समस्या आएपछि उनी दुईपटक अस्पताल भर्ना भएका थिए । केही समय अघि उनलाई दिल्लीको अस्पतालमा पनि भर्ना गरिएको थियो । उनी त्यहाँ कुनै पारिवारिक कार्यक्रममा सहभागी हुन गएका थिए । त्यो समयमा ऋषिले आफूलाई केही कुराको इन्फेक्सन भएको बताएका थिए ।

मुम्बई फर्किएपछि उनलाई भाइरल फिभर भएको थियो । ऋषि सामाजिक सन्जालमा निकै सक्रिय थिए । तर २ अप्रिलदेखि उनले सामाजिक सन्जालमा केही अपडेट गरेका थिएनन् । ऋषिलाई सन् २०१८ मा क्यान्सर भएको पत्ता लागेको थियो । अमेरिकामा उपचार भइरहँदा श्रीमति नीतू कपूर सँगै थिइन् ।

ऋषिले सन् १९७३ मा फिल्म ‘बोबी’मा शीर्ष भूमिकामा अभिनय गरेका थिए । यो फिल्म त्यो समयमा सर्वाधिक हिट भएको थियो । उनले अभिनेताका रुपमा दुई दशकसम्म दर्जनौं रोमान्टिक फिल्ममा अभिनय गरे । यसपछि भने उनले आफूलाई चरित्र अभिनेतामा रुपान्तरण गरे । ऋषिले सन् १९७० मा बाल कलाकारका रुपमा पिता राज कपूरको फिल्म ‘मेरा नाम जोकर’मार्फत अभिनयमा डेब्यू गरेका थिए ।