अमिताभ र ऋषिको यस्तो दोस्ती

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता ऋषि कपुरको निधनको खबरले फिल्म जगतमा उनको परिवारबाहेक बढी दुःखी कोही छन् भने ती पक्कै अमिताभ बच्चन हुन् । ऋषिको निधनको खबर सुन्नासाथ अमिताभले ट्वीटरमा श्रद्धाञ्जली दिँदै आफू टुटेको ट्वीट गरेका छन् ।

ऋषि र अमिताभले सन् ७० को दशकमा सँगसँगै आफ्नो करियर शुरु गरेका थिए । यो समयमा यी दुई कलाकारले धेरै फिल्ममा सँगै काम गरे । उनीहरुको जोडीलाई दर्शकले निकै रुचाए । ऋषि अमिताभको एंग्री यङ मेन यात्रामा उनी फिल्ममा सहकार्य गरे । त्यो बेला अमिताभलाई दर्शकले बढी मनपराउँथे किनकी त्यो समयमा एक्सन फिल्मको लहर राम्रो थियो । अमिताभ र ऋषिको दोस्तीका बारे मिडियाले कहिल्यै खुलेर लेखेनन् । तर उनीहरुबीचको सम्बन्ध कस्तो थियो भन्ने कुरा ऋषिको निधनपछि अमिताभले गरेको ट्वीटबाट प्रष्ट हुन्छ ।

दर्शकहरु ऋषि र अमिताभको अनस्क्रिन र अफस्क्रिन दोस्तीलाई निकै मनपराउँथे । उनीहरुले सँगै सहकार्य गरेको अन्तिम फिल्म ‘१०२ नटआउट’ थियो । फिल्ममा ऋषिले अमिताभको छोराको भूमिकामा अभिनय गरेका थिए । ऋषि र अमिताभले ‘अमर अकबर एन्थनी’, ‘कुली’, ‘नसीब’, ‘कभी कभी’ र ‘अजूबा’मा सँगै काम गरेका थिए । कपूर र बच्चन परिवारबीच जहिल्यै राम्रो सम्बन्ध रहयो । सन् २००२ मा अभिषेक र करिश्मा कपूरको इन्गेजमेन्ट टुटेपछि कतै अमिताभ र ऋषिबीचको सम्बन्ध पनि बिग्रिने त होइन भन्ने अड्कलबाजी भएको थियो । तर त्यो अड्कलबाजी केबल अड्कलबाजीमै सीमित रह्यो ।

ऋषिले आफ्नो अटोबायोग्राफी ‘खुल्लम खुल्ला’मा ‘अमर अकबर एन्थनी’ मा काम गर्नुअघि अमिताभसँग कुराकानी नभएको उल्लेख गरेका छन् । उनले पुस्तकमा आफूहरुबीच केही तनाव भएको र आफूले यो तनावलाई हटाउन कहिल्यै पनि बसेर छलफल नगरेको पुस्तकमा लेखेका छन् ।