नेपथ्यको पानी तिरतिरे सार्वजनिक

काठमाडौं । झण्डै अढाइ दसकअघि संकलन गरिएको र १७ वर्षअघि सार्वजनिक भएको नेपथ्यको पुरानो गीत ‘पानी तिरतिरे’को भिडियो सार्वजनिक भएको छ । ब्याण्डका अधिकांश गीतहरुजस्तै यसको पनि संकलन अमृत गुरुङले नै गरेका हुन् । ‘सन् १९९७ मा म तेह्रथुमको वसन्तपुरबाट ताप्लेजुङतर्फ जाँदै थिएँ,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत त्यो क्षण सम्झदै सुनाउँछन्, ‘त्यतिबेलै बाटोमा अचानक यो गीतको पहिलो हरफ भेटिएको थियो ।’ पैदल हिँड्दै जाँदा बाटोमा गुफापोखरी पथ्र्यो । त्यहाँको दृश्य बयान गरेर साध्य थिएन । गुफापोखरी छेवैमा देउराली थियो ।

‘त्यहि देउरालीमा बसेर म कुम्भकर्ण हिमालका दृश्यहरु क्यामरामा कैद गरिरहेको थिएँ,’ अमृत सम्झन्छन्, ‘त्यतिबेलै वनतिर हिँडेका दुइ तन्नेरीहरु हाम्रा नजिकै आइपुगे ।’ उनीहरु अमृतले बोकेको क्यामराका प्रति अत्यन्तै जिज्ञासु थिए । उनले त्यसका लेन्सहरु चलाउँदै दृश्यलाई नजिक ल्याएर देखाइदिए । तन्नेरीहरु प्रभावित भए ।

यो गीत नेपथ्यको एल्बम ‘भेँडाको ऊनजस्तो’का लागि सन् २००३ मा पहिलोपटक रेकर्ड गरिएको थियो । यस गीतको विशेषतामध्ये ‘क्वायर’को प्रयोग पनि एक हो । नेपथ्यको ‘भेँडाको ऊनजस्तो’ एल्बमका सबै गीतहरुमा संगीत संयोजन गर्ने काममा डानियल कार्थक (दानु)को अहम भूमिका थियो । इशाइ धर्मावलम्बी उनी चर्चको संगीतबाट नजिक हुने नै भए । ‘त्यतिबेला कालोपुल चर्चबाट दाजुभाइ दिदीबहिनीको एउटा समूह नै आएको थियो,’ अमृतले सम्झना गरे, ‘गीतमा उनीहरुले निकालेका विभिन्न स्वरको क्वायर मिसिएकै कारण पनि यो अझ मिठो बन्न पुग्यो ।’

यसरी तमोर नदीको किनारै किनार घाँस दाउरा गर्नेहरुको गुनगुनबाट निस्केको यो गीतले नेपथ्यको शिल्प पाएर ‘लोक रक’सम्मको यात्रा गरेको थियो । यस अवधिमा गीतकै हिसाबले मात्र श्रोताहरुले यसको आनन्द लिँदै आएका थिए । यसैबीच नेपथ्यले केहि वर्षयता आफ्नो युट्युब च्यानल मार्फत् नयाँ गीतहरु सार्वजनिक गर्न सुरुगरेको छ । त्यसैगरि पहिल्यै रिलिज भइसकेका पुराना गीतहरुलाई क्रमशः नयाँ ‘म्यूजिक भिडियो’, ‘लिरिक भिडियो’ वा ‘लाइभ भिडियो’का रुपमा पुनः प्रेषित गर्ने मञ्चका रुपमा पनि यस युट्युब च्यानलको उपयोग गर्न थालेको छ ।

गायक अमृत गुरुङले यसको छायांकन अष्ट्रेलियामा गरिएको जानकारी दिए । ‘यसको छायांकन हामीले अष्ट्रेलियाको सांगीतिक यात्राका क्रममा दक्षिण अस्ट्रेलियाको अलडिंगा समुद्री किनारमा गरेका हौं,’ उनले भने, ‘एक सहरबाट अर्को सहरमा आयोजित कन्सर्टका बीच फुर्सद्को सदुपयोग गर्दै यो काम गरेका थियौं ।’ अहिले त्यसै छायांकनलाई यो पुरानो गीतको भिडियोका रुपमा नेपथ्यले सार्वजनिक गरेको हो ।