कुकुरलाई कोरोना पत्ता लगाउने तालिम

वासिङ्टन(एजेन्सी) । सारा विश्व कोरोना भाइरसका कारण चिन्तित छन् । यो भाइरसका कारण जनावर पनि अछुतो छैन । विशेषज्ञहरुले अब जनावरलाई नै कोरोना भाइरस पत्ता लगाउन प्रयोग गर्ने भएका छन् ।

विशेषज्ञहरुले क्लिनिकल परीक्षणका माध्यमबाट कोरोना भाइरस पत्ता लगाउन सकिने भन्दै अमेरिका र ब्रिटेनमा कुकुरलाई यो विषयको तालिम दिइरहेको बताएका छन् । कुकुरले सुँघेर कोरोना भाइरस पत्ता लगाउन सक्ने भएकाले त्यस्तो तालिम दिइरहेको विशेषज्ञहरुले जनाएका छन् ।

आठ लेब्राडोर जातका कुकुरलाई पेनिसिल्विया युनिभर्सिटीको एक अनुसन्धान परियोजनाको माध्यमबाट तालिम दिइरहेको हो । यस्तो प्रयास लण्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसनमा पनि भइरहेको छ ।

अनुसन्धानकर्ताहरुले यसअघि नै कुकुरले सबै मानिसमा हुने मलेरिया संक्रमणको पहिचान गर्न सक्ने बताएका थिए । यदी ब्रिटेन र अमेरिकामा यो परीक्षण सफल भएमा कुकुरलाई केनाइन सर्विलान्स बाहिनीको रुपमा प्रयोग गर्न सकिनेछ ।