छोराछोरीलाई ढुंगाको खाना !

नैरोबी(एजेन्सी) । कोरोना संकटले केन्याको एक महिलालाई यति गरिब बनाएको छ कि उनले आफ्नो बच्चालाई फकाउनका लागि ढुंगा पकाएको नाटक गर्नु परेको छ । आठ बच्चाकी यी आमाको नाम पेनिना बहाती कित्साओ हो । पेनिना निरक्षर र विधवा छिन् । उनी मानिसहरुको कपडा धोएर आफ्नो र बालबच्चाको पेट पाल्छिन् । तर कोरोना संक्रमणका कारण उनको काम ठप्प भएको छ ।

पेनिनाका लागि गरिबी र समस्या यति बढेको छ कि उनले आफ्नो बच्चालाई खुवाउनका लागि खाना नै थिएन । त्यसकारण उनले बच्चालाई फकाउनका लागि ढुंगा उमाल्न शुरु गरिन् । पेनिनाले केही पकाएर देखाउँदा त्यो खान पाउने चाहनमा बच्चा निदाउलान् भन्ने सोचिन् । उनकी एक छिमेकी प्रिस्का मोमानीले पेनिनाको गतिविधिको भिडियो बनाइन् र मिडियालाई जानकारी दिइन् । प्रिस्का पेनिनाको बच्चा रोएको सुनेर कतै बच्चार्लाइ केही समस्या पो भयो कि भनेर बुझ्नलाई गएकी थिइन् ।

पेनिनाको कथा सुनेपछि मानिसहरुले उनका लागि पैसा जम्मा गर्न थाले । उनलाई सारा केन्याबाट फोन आउन थाल्यो । केन्यको एक टेलिभिजनमा दिएको अन्तरवार्तामा पेनिनाले आफूलाई मोबाइल एपकामाध्यमबाट पैसा आएको बताएकी छन् । एक छिमेकीले बैंक खाता खोलिदिएपछि उनको बैंकमा पैसा जम्मा हुन थाल्यो । उनलाई केन्याको रेडक्रसले पनि सहयोग गर्न थाल्यो । पेनिना आफूलाई केन्याका मानिसहरु यति दयालु छन् भन्ने कहिल्यै नलागेको बताइन् ।पेनिना केन्याको मोम्बासा सहरमा दुई कोठाको घरमा बस्छिन् । उनको घरमा न त बिजुली आउँछ, न पानी नै । केन्यामा कोरोना संक्रमणको संख्या ३ सय ९५ पुगेको छ । जसमा १९ जनाको मृत्यु भइसकेको छ ।