रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन

काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको बिहीबार राती ८४ वर्षको उमेरमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको छ । प्रजातन्त्र सेनानी अधिकारीको जन्म सन् १९३६ नोभेम्बर २७ मा वीरगन्जमा भएको थियो ।

उनका पिता ईश्वरीप्रसाद उपाध्याय र माता इन्दिरा उपाध्याय (पौडेल) हुन् । उनको बाल्यकाल बनारसमा बित्यो । उनको विवाह २००६ सालमा बिराटनगरका तीर्थप्रसाद अधिकारीसँग भएको थियो । सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले रेडियो २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन ।

२००७ सालअघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको अगुवाइमा प्रजातन्त्र रेडियो स्थापना भएको थियो । विराटनगरको जुट मिल्समा २००४ सालमा स्थापना गरिएको उक्त रेडियोमा गाउन रानुदेवीलाई २००६ सालमा तारिणीप्रसादले नै प्रोत्साहन गरेका थिए ।

इतिहास विषयमा एमएसम्मको अध्ययन गरेकी रानुदेवीका छोरा अविन र छोरीहरू अर्चना तथा अल्पना छन् । २०६३ सालमा उनका बारेमा ‘५६ वर्षपछि.’ नामक सांगीतिक वृत्तचित्र बनाइएको थियो । उक्त वृत्तचित्र पत्रकार तथा गीतकार शंकर खरेल र गायक तथा संगीतकार सुमित खड्काले बनाएका थिए ।