कोरोना रिलिजमा लकडाउन बाधक

लसएन्जल्स(एजेन्सी) । कोरोना भाइरसले सारा विश्वमा आतंक फैलाएको छ । यसले पु¥याएको क्षति वा मृत्यु सायदै त कुनै युद्धमा हुँदैन । विश्वका अधिकांश देशमा अहिलेको समयमा लकडाउन लागु गरिएको छ । मानिसहरु घरमा नै बस्न बाध्य छन् । यस्तो अवस्थामा फिल्म त के, नयाँ टेलिभिजन शो पनि दर्शकले हेर्न पाएका छैनन् । कोरोनाको यति ठूलो मुद्धा र प्रभाव भइरहँदा फिल्म निर्देशक मोस्ताफा केशावरीले यो मौकालाई छोडेनन् । उनले कोरोना भाइरसकै कथामा आधारित फिल्म बनाए, जसको नाम उनले ‘कोरोना’ नै राखे ।

फिल्मको थिमदेखि लिएर कथासम्म सबै कुरा फरक छन् । जसकारण यो फिल्म प्रति आम फिल्मकर्मीको चासो पनि बढेको छ । यो फिल्मको पुरा छायांकन एक एलिवेटर त्यो पनि सिंगल टेकमै गरिएको थियो । कुनै पनि फिल्मलाई सिंगल टेकमा छायांकन गर्नु निकै गाह्रो कुरा हो । तर निर्देशक मोस्ताफाले यो कमालको काम गरे ।

फिल्मको कथा पनि निकै रोचक बनाइएको छ । एक मानिस चिनियाँ नागरिक हुन्छन्, उनी चिनियाँ भएकै कारण उनलाई अन्य मानिसले शंकाको नजरले हेर्न थाल्छन् । निर्देशक मोस्ताफाका अनुसार उनी एलिभेटरमा रहँदा कुनै चिनियाँ व्यक्तिलाई हमला भएको भन्ने समाचार पत्रिकामा पढेपछि उनलाई यो फिल्मको अवधारणा आएको थियो ।

यो फिल्ममा एमी अनिके, जारिना स्टेर्लिङ, रिचार्ड लेट, आन्देरा स्टेफेन्सीकोभा र जोस ब्ल्याकरले प्रमुख भूमिकामा अभिनय गरेका छन् । निर्देशक मोस्ताफा यो फिल्मलाई कुनै फेस्टिभलमा रिलिज गर्ने तयारीमा थिए । तर लकडाउनका कारण उनको योजना सफल हुन सकेन । अब यो फिल्मलाई उनी कुनै डिजिटल प्लेटफर्ममा रिलिज गर्ने सोचमा छन् ।