क्वारेन्टाइनमा बिरामीको सेवामा रोबोट

टोकियो(एजेन्सी) । कोरोना भाइरसका कारण जोकोहीलाई क्वारेन्टाइनमा एक्लै बस्नु सकस नै हुन्छ । लकडाउनका कारण मानिसहरुले चाहेर पनि एकअर्कासँग दुरी कायम गरिरहनुपरेको छ । यस्तो अवस्थामा टोकियोको एक होटलले एक विशेष साथीलाई काममा खटाएको छ । कम लक्षणयुक्त बिरामीको लागि क्वारेन्टाइन सेन्टर बनाइएको यो होटलमा मानिसलाई स्वागत गर्नका लागि रोबोट राखिएको छ । यसले अत्यावश्यक काममात्र गर्दैन, बिरामीलाई सहारा दिने काम पनि गर्दछ ।

टोकियोको यो होटलमा पेपर नामको रोबोट प्राय मानिसलाई ‘खाली पेट तपाईं कोरोना भाइरससँग लड्न सक्नुहुन्न । कृपया स्वस्थ रहनका लागि राम्रो खानेकुरा खानुहोला’ भन्दै सन्देश प्रवाह गरिरहेको हु्न्छ । मानिस जस्तै देखिने सेतो रंगको यो रोबोटको गोला गोला आँखा छन् र यसको अगाडि एउटा ट्याबलेट राखिएको छ । उसको अनुहारमा मास्क पनि लगाइएको छ ।

यो रोबोट क्वारेन्टाइनमा बस्न आउनेलाई स्वागत गर्दछ । बीच–बीचमा उसले मानिससँग कुराकानी पनि गर्छ । जब ऊ खाना खाइरहेको हुन्छ त्यो बेला पनि उसले ‘हामी सबै तपाईंहरुकै साथमा छौं’ र हामी तपाईंलाई चियर गरिरहेका छौं । कृपया तपाईं जब यहाँ हुनुहुन्छ, आराम गर्नुहोला र ठीक हुनुहोला’ जस्तो सन्देश पनि भनिरहेको हुन्छ । यतिमात्र होइन, होटलमा मदिरा नल्याउनुहोला भन्ने सन्देश पनि दिइरहेका हुन्छन् ।

टोकियो सरकारका प्रवक्ता नाओको कुबोटाले बिरामीलाई दुई हप्ताका लागि क्वारेन्टाइनमा राखिएको बताए । ‘यस्तो अवस्थामा बिरामीलाई मानसिक आराम दिन र ऊसँग भलाकुसारी गर्नका लागि रोबोटको प्रयोग गरिएको हो’, उनले भने । रोबोट बनाउने सफ्टबैंकका मार्केटिङ निर्देशक कान कियोटाले यस्तो काम मानिसलाई लडाउन नसकिने बताए । मानिसलाई इन्फेक्सनको खतरा हुनसक्ने भएकाले रोबोटको प्रयोग गरिएको उनले खुलाए ।