कलाकारलाई सघाउन दिल चाहता हे रिमेक

मुम्बई(एजेन्सी) । कोरोना भाइरसका कारण देशभर लकडाउन गरिएको छ । देश यो बेला स्वास्थ्यदेखि लिएर आर्थिक अवस्थाका बारेमा चिन्तित छ । यस्तो अवस्थामा बलिउड सेलिब्रेटीहरु आफ्नो तर्फबाट सहयोगको काम निरन्तर गरिरहेका छन् । आइ फर इण्डियाको माध्यमबाट फन्ड जुटाएपछि अब चर्चित गीत ‘दिल चाहते हे’लाई पुनसिर्जना गरिएको छ । गीतमार्फत मानिसलाई घरमा नै बस्न आह्वान गरिएको छ ।

यो गीतको भिडियोको शुरुवातमा आमिर खानको भनाइ राखिएको छ । ‘मैले अहिलेसम्म जति फिल्ममा काम गरें । तीमध्ये दिल चाहता हे गीत मलाई मनपर्नेमध्ये एक हो । यो सुन्दर गीतलाई शंकर एहसान र लोले कम्पोज गरेका हुन् । गीतलाई जाबेद अख्तरले लेख्नुभएको हो । मलाई यो कुरामा खुशी लागेको छ कि यति सुन्दर गीतलाई ब्रेकली म्यूजिक स्कुलले पुनः निर्माण गरेको छ । यो गीतमार्फत जति पैसा जम्मा हुन्छ, ती पैसा कलाकारलाई सहयोग गरिनेछ । मेरो हृदय चाहन्छ कि जो अहिले समस्यामा हुनुहुन्छ, उहाँहरुको समस्या चाँडो भन्दा चाँडो हटोस् । मेरो हृदय चाहन्छ कि चम्किला दिन फेरी शुरु होऊन’, आमिरले भनेका छन् ।

यो गीतको नयाँ भर्सनलाई शंकर महादेवनले रिक्रिएट गरेका हुन् । यो भिडियोमा २१ देशका अलग–अलग कलाकार देखिनेछन् । गीतमा ‘दिल चाहता हे’ मा आमिरसँग स्क्रिन शेयर गर्ने अभिनेता फरहान अख्तरलाई पनि देख्न सकिन्छ । यो गीत मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो ।

सन् २००१ मा फरहान अख्तरले ‘दिल चाहता हे’ निर्माण तथा निर्देशन गरेका थिए । फिल्ममा आमिर खान, सैफ अली खान, फरहान अख्तर, प्रिटी जिन्टा र डिम्पल कपाडिया प्रमुख भूमिकामा थिए । फिल्मसँगै गीत पनि हिट भएको थियो । फिल्मले नेशनल अवार्ड जितेको थियो ।