जसले फ्लप ट्याग पाए

मुम्बई(एजेन्सी) । भारतमा लकडाउन कहिलेसम्म खुल्ने हो भन्ने केही टुंगो छैन । लकडाउनले बलिउडको व्यापार व्यवसाय कहिलेबाट शुरु हुन्छ र बक्स अफिसमा पैसा जम्मा हुन थाल्छ भन्ने कुराको पनि केही टुंगो छैन । बलिउडमा स्टार कलाकार भए पनि दर्शकले उनीहरुको फिल्मलाई कस्तो प्रतिक्रिया दिन्छन् भन्ने उदाहरण बलिउडमा धेरै समयदेखि देखिरहेकै कुरा हो । यहाँ त्यस्ता पाँच फिल्मको चर्चा गरिएको छ, जुन फिल्मको बजेट महंगो, स्टार कलाकार रहँदा रहँदै पनि बक्सअफिसमा असफल साबित भइदियो । यी फिल्मको घाटाले कतिपय निर्माता रुनु पनि परेको थियो ।

बलिउडका मेगास्टार अमिताभ बच्चन र आमिर खानलाई दर्शकले पहिलोपटक फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा सँगै देखिए । दिवालीको समयमा रिलिज भएको यो फिल्मले पहिलो दिन नै ५० करोडको व्यापार गर्ने अनुमान गरिएको थियो । तर खराब समीक्षाले फिल्मको व्यापार बिगार्यो नै लामो समयपछि आमिर खानलाई फ्लप फिल्मको ट्याग भिराइदियो । दुई सयदेखि तीन सय करोडको बजेटमा निर्माण भएको फिल्मले बक्सअफिसमा तीन सय ३५ करोडको ग्रस कलेक्सन गर्यो । यो कलेक्सन आफैमा घाटाको संकेत हो ।

अभिनेता शाहरुख खान र अभिनेत्रीद्वय अनुष्का शर्मा तथा कटरीना कैफ अभिनित फिल्म ‘जीरो’को अवस्था कम पीडादायी भएन । शाहरुखले पहिलोपटक होचो चरित्रमा अभिनय गरेको यो फिल्मले खराब समीक्षा मात्र पाएन, फिल्म निर्माण शैली र विशेषत भीएफएक्स पाटोले पनि खुबै आलोचना खेप्नुपर्यो । दुई सय करोडमा निर्माण भएको फिल्मले बक्सअफिसमा एक सय ८६ करोड मात्र जम्मा गर्न सक्यो ।

फिल्म ‘कलंक’को बक्सअफिस व्यापार बक्सअफिसका लागि कलंक नै साबित भयो । वरुण धवन, आदित्य रोय कपुर, आलिया भट्ट, सञ्जय दत्त, सोनाक्षी सिन्हा र माधुरी दिक्षित अभिनित फिल्मको ट्रेलर र गीतलाई दर्शकले रुचाए पनि फिल्म वेस्वादको बन्यो । १ सय ५० करोडको बजेटमा निर्माण भएको फिल्मले बक्सअफिसमा ८० करोडको मात्र व्यापार गर्यो । अभिनेता बरुणको करियरमा यो नै पहिलो फ्लप फिल्म बन्यो ।

निर्देशक अनुराग कश्यपको महत्वकांक्षी फिल्म ‘बम्बे भेल्भेट’ बक्सअफिसमा विध्वंस नै साबित भयो । रणवीर कपूर, अनुष्का शर्मा र करण जोहार अभिनित फिल्मको बजेट १ सय २५ करोड थियो । यो फिल्मले घरेलु बजारमा सय करोड घाटा व्यहोर्नु पर्यो । निर्देशक अनुराग बसुको फिल्म ‘काइट्स’को अवस्था उस्तै खराब रह्यो । ऋतिक रोशन र मेक्सिकन अभिनेत्री बारबरा मारी अभिनित फिल्मले १ सय २५ करोडको लगानीलाई सुरक्षित गर्न सकेन ।