व्हाइट हाउसमा गुञ्जियो ओम शान्ति, शान्ति

वासिङ्टन(एजेन्सी) । अमेरिकामा प्रार्थना दिवसको अवसर पारेर राष्ट्रपति भवन व्हाइट हाउसको रोज गार्डेनमा एक हिन्दु पुरोहितले पवित्र शान्ति पाठ गरेका छन् । कोरोना महामारीबाट प्रभावित प्रत्येक व्यक्तिको स्वास्थ्य, सुरक्षा र कुशलताका लागि यो शान्ति पाठ गरिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा न्यूजर्सीका राबिन्सविलेस्थित बीएपीएस स्वामीनारायण मन्दिरका पुरोहित हरीश ब्रह्मभट्ट प्रार्थना गराउनका लागि अन्य धर्मका विद्वानका साथ व्हाइट हाउस पुगेका थिए । राबिन्सविलेस्थित स्वामीनारायण मन्दिर भारत बाहिर रहेको यो सम्प्रदायसँग जोडिएको सबैभन्दा ठूलो मन्दिर हो । संस्कृतमा मन्त्रोच्चारण गर्नु अघि हरीशले आफ्नो संक्षिप्त सम्बोधन गरेका थिए ।

‘कोरोनाको यो संकटकालमा शारीरिक दुरी र लकडाउनले मानिसलाई चिन्तित बनाउनु सामान्य कुरा होइन् । शान्ति पाठ यस्तो प्रार्थना हो, जो सांसरिक धन, सफलता, प्रसिद्धि या स्वर्ग जाने जस्तो कामनाका लागि गरिँदैन् । यो शान्तिका लागि गरिएको सुन्दर हिन्दु प्रार्थना हो । यो वैदिक प्रार्थना हो । जसका वर्णन यजुर्वेदमा गरिएको छ’, उनले भने । उनले यो कुराको अंग्रेजी अनुवाद गरेका थिए । उनले शान्तिका लागि गरिएको आवाजको प्रार्थना स्वर्गसम्म जाने दाबी गरे । ‘आकाश र पृथ्वीमा शान्ति होस्, पानीमा शान्ति होस्, जडीबुटी र बोटविरुवामा शान्ति होस्, सबै फसलमा शान्ति होस्, ओम शान्ति, शान्ति, शान्ति’, उनले भनेका छन् ।

शान्ति पाठ सकिएपछि राष्ट्रपति ट्रम्पले पुरोहित हरीश ब्रह्मभट्टप्रति आभार व्यक्त गरे । ‘यो समयमा अमेरिका निकै भयानक रोगसँग युद्ध लडिरहेको छ । जब कुनै संकट या चुनौति आउँछ, हाम्रा मानिसहरुले आस्था, प्रार्थनाको शक्ति र भगवानको अनन्त महिमामा विश्वास राख्छन् । म सबै अमेरिकीलाई हृदयबाट भगवानको प्रार्थना गर्न आव्हान गर्दछु’, ट्रम्पले भने ।