दिवालीमा सलमान र अक्षयको भीडन्त

मुम्बई(एजेन्सी) । कोरोना भाइरसको लकडाउनको असर भारतसँगसँगै त्यहाँको फिल्म उद्योगमा पनि परेको छ । कोरोना भाइरसकै कारण कैयौं फिल्म रिलिज हुन सकेका छैनन् । यी फिल्मले रिलिज मितीलाई पनि पर धकेलेका छन् । अक्षयकुमारको ‘सूर्यवंशी’, रणवीर सिंहको ‘८३’ र वरुण धवनको फिल्म ‘कुली नंबर वन’को रिलिज मिती त यसअघि नै परिवर्तन भइसकेको छ ।

यतिबेला सलमान खानको फिल्म ‘राधे’ र अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम्ब’को रिलिजमा पनि खतराको बादल मढारिइरहेको छ । यी दुवै फिल्म इदमा रिलिज हुने तयारीमा थिए, तर कोरोना भाइरसको लकडाउनका कारण मेकर्सहरु सो मितिमा रिलिज गर्न हिचकिचाइरहेका छन् । यस्तो अवस्थामा सबैको ध्यान दिवालीमा पुगेको छ ।

‘सूर्यवंशी’, ‘राधे’ र ‘कुली नम्बर वान’ जस्ता फिल्म एक्सन, इमोसन र ड्रामाले भरपूर छन् । तिहारको समयमा यस किसिमका फिल्मले जबरदस्त व्यापार गर्छ । यो समयमा दर्शकहरु यस्तो मसालेदार फिल्म हेर्न थिएटर पुग्दछन् । सलमान खान र अक्षय कुमार आफ्नो फिल्म रिलिजको लागि दिवालीको तिहार छनोट गर्छन् । यदी यही कुरालाई यसपटक पनि व्यवहारमा उतार्ने हो भने सलमानको ‘राधे’ र अक्षयको ‘सूर्यवंशी’ एकैदिन बक्सअफिसमा भिड्ने सुनिश्चित झैं बनेको छ ।

व्यापार विश्लेषक अतुल मोहन दिवाली आउन करिब ६ महिना बाँकी रहेकाले त्यो समयसम्म कोरोना भाइरस कम हुने दाबी गर्छन् । ‘इद, क्रिसमस र रिपलब्लिक डेको जस्तै दिवालीमा पनि एकसे एक ठूला फिल्म रिलिज हुन्छन् । किनकी यो तिहार तपाईंलाई सफलताको ग्यारेन्टी दिन्छ ।’ उनी भन्छन् । फिल्म वितरक राज बंसल पनि अतुलको भनाईमा सहमत छन् । ‘ठूला फिल्मका लागि दिवालीको तिहार निकै सुरक्षित रहन्छ । तर निर्मातालाई दुई भन्दा बढी फिल्म यो दिनमा रिलिज गर्नुहुँदैन । नत्र फिल्मलाई ठूलो क्षति हुनेछ । केवल २ फिल्म दिवालीमा रिलिज गर्नु ठिक हो’, बंसल भन्छन् ।