मुम्बई(एजेन्सी) । भोजपुरी अभिनेत्री आम्रपाली दुबेले राजनीतिमा आउने संकेत दिएकी छन् । नवभारत टाइम्स अनलाइनको फेसबुक पेजमा लाइभ च्याट गर्दै उनले यो कुराको संकेत दिएकी हुन् । उनले सिधै आफू राजनीतिमा आउने कुरा नबताए पनि देशका लागि आवश्यकता परेमा आफू खुशीसाथ राजनीतिमा पाइला चाल्ने खुलाएकी हुन् । उनको यो कुराले आम्रपाली भारतीय जनता पार्टी(बीजेपी)मा आउन सक्ने सम्भावना बढेर गएको छ ।
‘अहिले त म फिल्ममा नै फोकस भइरहेको छु । तर देशको हितमा आउन मेरा लागि उपयुक्त छ भने म राजनीतिमै हाँसी खुशी आउनेछु’, उनले भनेकी छन्, ‘देशका हरेक युवाहरु यसका लागि तयार हुनुपर्दछ । देशको हितमा जब कुनै पनि बेला तपाईंको आवश्यकता पर्दछ, त्यो बेला तपाईं तयार हुुनपर्दछ । समाजसेवाबाट म कहिले पछाडि हट्दिनँ । देश सेवाका लागि यदी आम्रपालीको आवश्यकता परेको छ भने म अवश्य राजनीतिमा आउनेछु । तर अहिले नै आउने सम्भावना भने छैन ।’
आम्रपालीको यो कुराले उनी बीजेपीबाट राजनीति गर्ने संकेत देखाएको जानकारहरु बताउँछन् । यसको पछाडि केही कारण पनि छन् । आम्रपालीले दिनेशलाल यादव निरहुआसँग कैयौं फिल्ममा काम गरिसकेकी छन् । निरहुआ आफैं बीजेपीमा छन् । यसबाहेक रवि किशन, मनोज तिवारीसहित कैयौं भोजपुरी स्टार बीजेपीमा छन् ।
आम्रपाली गोरखपुरकी हुन् । हालै मात्र उनले मुख्यमन्त्री योगी आदित्यनाथमाथि बनिरहेको फिल्मको निर्माता बन्ने घोषणा पनि गरिसकेकी छन् । यसकारण पनि मुख्यमन्त्री योगी प्रति उनको भावनात्मक लगाव छ भन्ने प्रष्ट देखिन्छ । धेरैले उनलाई अन्य पार्टीको तुलनामा बीजेपी सुरक्षित रहने सुझाव दिएका छन् ।