मुम्बई(एजेन्सी) । विश्वको सबैभन्दा ठूलो सांगीतिक कम्पनीमध्येको एक तथा बलिउडका ठूला ठूला फिल्मको निर्माणदेखि लिएर ठूलो मात्रामा सिंगल भिडियो बनाउने कम्पनी टी सिरिजको मुम्बईस्थित भवनको महानगरपालिका(बीएमसी)ले सिल गरिदिएको छ । सो भवनमा कार्यरत ग्राउण्ड स्टाफमा कोरोना पोजेटिभ देखिएपछि बीएमसीले भवन नै सिल गरेको हो ।
कम्पनीका प्रवक्ताले भवन सिल भएको पुष्टि गरे । उनले लकडाउनका कारण भवनमा केही काम नभएको र कोही कर्मचारी जाने नगरेको बताए । तर त्यो भवनमा कम्पनीका सुरक्षाकर्मी र ग्राउण्ड स्टाफलाई भने बस्ने व्यवस्था थियो ।
भवनमा रहेका अन्य चारजनालाई हाल क्वारेन्टाइनमा राखिएको छ । उनीहरुमा कोरोनाको संक्रमण देखिएको छैन । सन् १९८३ मा गुलशन कुमारले स्थापना गरेको र उनको हत्यापछि भुषण कुमारले सन्चालन गरिरहेको म्युजिक कम्पनी टी सिरिजको सिल गरिएको भवन ७ वर्ष पुरानो हो । कम्पनी मार्च महिनाको अन्त्यमा नयाँ भवनको १५ औं तलामा रहेको टी सिरिज बिजनेस पार्कमा सर्ने तयारीमा थियो । तर लकडाउनका कारण त्यो योजना पुरा हुन सकेको थिएन ।