यसरी बने अमिताभ बलिउडको एंग्री यङ मेन

मुम्बई(एजेन्सी) । बलिउडका महानायक अमिताभ बच्चनको सुपरहिट फिल्म ‘जंजीर’ रिलिज भएको ४७ वर्ष पुगेको छ । यो फिल्म सन् १९७३ मे ११ मा रिलिज भएको थियो । यो फिल्मपछि अमिताभले आफ्नो करियरमा कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । यही फिल्मले उनलाई एंग्री यङ मेनका रुपमा बलिउडमा चिनायो । जबकी अमिताभले यो फिल्म सजिलै पाएका थिएनन् । फिल्मका लागि निर्देशक प्रकाश मेहराले त्यस समयका सुपरस्टारहरुलाई अफर गरेका थिए, तर सबैले यसलाई अस्वीकार गरेपछि फिल्ममा काम गर्ने मौका अमिताभले पाएका थिए ।

अमिताभलाई यो फिल्ममा अनुबन्धित गरिएको विषयमा एउटा रोचक कथा छ । यो कथा निर्देशक मेहराले नै एक अन्तरवार्तामा बताएका थिए । वास्तविकतामा ‘जंजीर’को कथा धर्मेन्द्रले प्रख्यात लेखकजोडी सलीम–जावेदबाट किनेका थिए । तर त्यो समयमा प्रकाश मेहरा फिल्म ‘समाधि’माथि काम गरिरहेका थिए । पछि धर्मेन्द्रको हातमा ‘समाधि’को कथा पुगेपछि उनलाई ‘समाधि’को कथा यति धेरै मनपर्यो कि धर्मेन्द्रले त्यसको सट्टामा प्रकाशलाई ‘जंजीर’ दिए ।

यो कथा यहीँ टुंगिएन । जुन समयमा धर्मेन्द्रले प्रकाशलाई फिल्मको कथा दिए, त्यो समयमा धर्मेन्द्र नै प्रमुख भूमिकामा काम गर्ने तयारीमा थिए । उनी फिल्मको सहनिर्माता बन्न पनि तयार भएका थिए । यही समयमा प्रकाशले प्रख्यात लेखक के नारायणबाट ‘कहानी किस्मत की’को अधिकार किने । तर यो फिल्मको विषय धर्मेन्द्रलाई पनि मनपरेको थियो । धर्मेन्द्रले प्रकाशलाई फिल्म ‘कहानी किस्मत की’को विषय बलिउडमा उनका गडफादर मान्ने अर्जुन हिंगोरानीलाई दिन प्रस्ताव गरे । प्रकाशका अनुसार धर्मेन्द्रले फिल्मको विषय अर्जुनलाई दिने भए फिल्ममा आफ्नो पूर्ण सहयोग हुने प्रलोभन देखाएका थिए । जबकी एक फिल्म ‘जंजीर’का लागि प्रकाश दुई फिल्मको सम्झौता गर्न तयार भएनन् । यसपछि धर्मेन्द्रले कुनै अर्को फिल्ममा काम गर्ने भन्दै प्रकाशको फिल्ममा काम गर्न अस्वीकार गरिदिए । धर्मेन्द्रले अस्वीकार गरेपछि प्रकाश देव आनन्द कहाँ पुगेका थिए । देव आनन्दलाई पनि फिल्मको कथा मनपरेको थियो, तर उनले कथामा केही कुरामा आपत्ति जनाए । उनी फिल्ममा केही गीत होस् भन्ने चाहन्थें, जुन कुरा मेहरा चाहँदैन थिए । त्यही कारणले देव आनन्दले पनि अस्वीकार गरे ।

त्यो समयका सुपरस्टार राजकुमारलाई पनि प्रकाशले फिल्मका लागि प्रस्ताव गरेका थिए । तर राजकुमार मुम्बईभन्दा बाहिर चेन्नई(त्यो समयमा मद्रास)मा कुनै एक फिल्मको सुटिङ गरिरहेका थिए । राज कुमार फिल्मको सुटिङ चेन्नईमै होस् भन्ने चाहन्थे किनकी उनी त्यहाँ अर्को फिल्मको सुटिङमा थिए । तर ‘जंजीर’ले मुम्बई भन्दा बाहिर गएर सुटिङ गर्न अनुमति पाएको थिएन । राजकुमारलाई अभिनय गराउने प्रकाशको चाहना पनि अधुरै रह्यो । तर प्रकाश हार मानेनन् । उनी फिल्मको कथा लिएर दिलीप कुमारकोमा पुगे । दिलीपलाई फिल्मको कथा मनपरेन र उनले प्रस्ताव अस्वीकार गरे । दिलीपले फिल्ममा शीर्ष भूमिकामा काम गर्दा कुनै स्कोप नभएको र अभिनयमा कुनै विविधता नभएको बताएका थिए ।

ठूला स्टारले फिल्म खेल्न अस्वीकार गरेपछि प्रकाश निकै तनावमा थिए । त्यही समयमा एक साँझ अभिनेता प्राणले प्रकाशलाई अमिताभलाई फिल्ममा लिन सल्लाह दिए । ‘बम्बे टु गोवा’ अमिताभको काम हेरेपछि प्रभावित भएका प्राणले मेहरालाई अमिताभ भविष्यको सुपरस्टार हुने बताएका थिए । प्रकाश आफैं पनि शत्रुघ्न सिन्हाका साथ अमिताभको फाइटको सिन हेरेर प्रभावित भएका थिए । यसपछि प्रकाशले अमिताभलाई फिल्मका लागि साइन गरे । यसरी अमिताभलाई उनको करियरको ठूलो ब्रेक मिलेको थियो ।