लण्डन(एजेन्सी) । कोरोना भाइरसका कारण विश्वले यतिबेला लकडाउनको सामना गरिरहेको छ । केही देशमा विस्तारै विस्तारै लकडाउनलाई खुकुलो बनाइँदै गएको छ । यस्तो अवस्थामा त्यहाँको सरकारलाई बस र ट्रेनमा सामाजिक दुरी कसरी कायम गर्न सकिन्छ भन्ने चिन्ताले सताउन थालेको छ ।
यो दिशामा यूरोपका देशहरुले योजना नै बनाएका छ । उनीहरुले भीडभाडबाट बच्दै सामाजिक दुरी कायम गराउनका लागि साइकलको प्रयोगलाई महत्वपूर्ण आधार मानेका छन् । साइकलको प्रयोगको मामलामा ब्रिटेन आफ्ना यूरोपिय छिमेकीको तुलनामा पछाडि छ । ब्रिटेनमा २ सय ५० मिलियन पाउण्ड खर्च गर्दै गत साता इमर्जेन्सी एक्टिभ ट्राभल फण्ड बनाइएको थियो । यो फण्डमार्फत आममानिसलाई साइकलमार्फत काममा जान प्रोत्साहित होस् भन्ने सरकारको चाहना हो ।
फ्रान्समा विश्वकै सबैभन्दा चर्चित साइकल रेस हुन्छ । यहाँको सरकार २० मिलियन यूरो खर्च गर्ने तयारीमा जुटिसकेको छ । फ्रान्स सरकारले साइकल यात्राका लागि भौतिक पूर्वाधारलाई मजबुत बनाउने तयारीमा जुटेको छ । उसले सहुलियत दिएर ब्रिटेनको जस्तै टेम्पोररी साइकल लेन बनाउने योजना पनि राखेको छ ।
नेदरल्याण्डको ऐम्स्टर्सडम र नोर्दन यूरोपको कैयौं सहरमा साइकलमा आउनेजाने सुविधा छ । जबकी अन्य देशमा यसलाई सही रुपमा प्रयोग गरिएको छैन । कोरोना भाइरसको प्रकोपले सामाजिक दुरी बढाउनुपर्ने चुनौती थपिएपछि त्यसको विकल्पमा साइकल देखिएकाले साइकल कम्पनीहरु साइकल उत्पादन बढाउन तिर लागेका छन् । वेनमूफ विश्वव्यापी रुपमा इलेक्ट्रिक साइकलको व्यापार गर्दछ । यसको विक्रीमा फेब्रुअरी अन्त्यदेखि मार्चसम्म ४८ प्रतिशतले बढोत्तरी भएको छ । ब्रिटेनमा फेब्रुअरीदेखि अप्रिलको अन्त्यसम्म साइकल बिक्रीमा १ सय ८४ प्रतिशत वृद्धि भएको छ ।