कस्तो रहला प्रभाससँग भाग्यश्रीको रोमान्स ?

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री भाग्यश्रीले सन् ९० को दशकमा रिलिज भएको सलमान खानको फिल्म ‘मेने प्यार किया’बाट बलिउडमा आफ्नो पहिचान बनाइन् । उनले त्यो वर्षको बेस्ट डेब्यू फिमेलको अवार्ड पनि जितिन् ।

यसपछि भाग्यश्री अचानक बलिउड उद्योगबाट बाहिर रहिन् र उनले आफ्नो घर बसाईन् । वर्षौपछि पुनः भाग्यश्री फिल्ममा फर्किने सोच बनाइरहेकी छन् । जसका लागि उनले भारतीय फिल्मका बाहुबाली अर्थात् प्रभाससँग सहकार्यको हात मिलाएकी छन् । भाग्यश्रीले प्रभासको नयाँ फिल्मको लागि आफ्नो भागको सुटिङ पुरा गरिसकेकी छन् ।

‘म अहिले स्क्रिप्ट पढिरहेको छु र काम गर्न पनि शुरु गरिसकेको छु । यी स्क्रिप्टमध्येमा एउटा प्रभासको फिल्मको छ । यो फिल्मको नामलाई लिएर कुनै घोषणा गरिएको छैन । लकडाउन भन्दा अगाडि फिल्मको सुटिङ शुरु गरेको थिएँ । यसमा मेरो दिलचस्प भूमिका छ । जसका लागि मैले कैयौं अलग किसिमको कुरा सिकेकी छु’, उनले भनेकी छन् ।

भाग्यश्रीले आफूलाई दुई सन्तान अभिमन्यू र अवन्तिकाले अभिनयमा फर्कनका लागि प्रोत्साहन गरेको बताइन् । उनले ‘कच्ची धुप’, ‘कागजकी कस्ती’ र ‘लौट आओ तृषा’ जस्ता टेलिभिजन शोमा पनि अभिनय गरेकी छन् । भाग्यश्रीले निजी समारोहमा हिमालय दासानीसँग विवाह गरेकी थिइन् । यो विवाहमा सलमान खान र प्रख्यात निर्देशक सुरज बडताज्या पनि उपस्थित थिए । भाग्यश्रीका छोरा अभिमन्यू दासानीले फिल्म ‘मर्दको दर्द नहीं होत’बाट बलिउडमा पाइला चालेका छन् र उनी चाँडै शिल्पा सेठ्ठीका साथ फिल्म ‘निकम्मा’मा अभिनय गर्दैछन् ।