पूर्व पत्नीसँग ऋतिकको २३ घण्टे उपबास

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता ऋतिक रोशन दैनिक व्यायाम गर्छन् । उनी उपवासमा पनि विश्वास राख्छन् । शुक्रबारमात्र ऋतिकले इन्स्टाग्राममा एक फोटो शेयर गरे जसमा उनले ‘२३ घण्टाको उपवास, ह्यासट्यागहेल्दी लिभिङ ह्यासट्याग डिसिप्लिन इक्वल्स प्रिडम’ भनी क्याप्सन लेखे ।

हालैमात्र ऋतिकले आफ्ना प्रशंसकसँग केही लकडाउन टिप्स शेयर गरे । उनले लकडाउनका समयमा मानसिक स्वास्थ्यको ख्याल राख्दै भीटामिन डीको दैनिक प्रयोग गर्न सुझाए । ऋतिक यतिबेला आफ्नी पूर्व पत्नी सुजैन खानका साथ लकडाउनको समय बिताइरहेका छन् । सुजैन अस्थायी रुपले दुबै छोरा रेहान र रीदानको रेखदेखका लागि आएकी छन् । ऋतिक हाल आफ्नो खाली समय रीदान र रेहान तथा पूर्व पत्नी सुजैनसँग बिताइरहेका छन् । सुजैनले हालै एक भिडियो शेयर गरेकी थिइन्, जसमा ऋतिक आफ्ना छोराहरुसँग घरको बाल्कोनीमा समय बिताइरहेका देखिन्छन् ।

भिडियोसँगै सुजैनले विलियम हेनरी डेविसले लेखेको कविता लेजर फुसर्दका पलको केही पंक्ति पनि लेखेकी छन् । यसअघि ऋतिकले सामाजिक सन्जालका माध्यमबाट लकडाउनका समयमा आफ्नो घरमा अस्थायी रुपमा आएर छोराहरुको रेखदेख गरेकोमा आभार व्यक्त गरिसकेका छन् । ऋतिक हालका दिनमा सामाजिक सन्जालमा सक्रिय छन् । समय समयमा उनी सामाजिक सन्जालमा आफ्नो पोस्टका माध्यमबाट प्रशंसकलाई मनोरन्जन दिइरहेका छन् ।