जापानमा सातामा चार दिनमात्र काम !

टोकियो(एजेन्सी) । जापानका प्रमुख रोजगार दाता कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई कोरोना भाइरसको संक्रमण घटाउनका लागि हप्तामा ४ दिन मात्र काम गर्न आग्रह गरेका छन् । जापानी बिजनेस फेडरेसन(जसलाई कीडरेन पनि भनिन्छ)ले बिहीबार एक निर्देशिका जारी गर्दै यो आग्रह गरेको हो ।

जस अनुसार हप्तामा काम कम गर्न, सञ्चारका लागि प्रतिबद्ध र सार्वजनिक यातायातमा भीडबाट बच्नका लागि कर्मचारीलाई रोटेसनमा काम गराउन लगाएको हो । फेडरेसनको केही निर्देशिका जापानी सामाजिक सम्मेलनसँग मिल्दोजुल्दो छ । जसमा बिरामी मानिसलाई घरमा आराम गर्न र नियमित रुपमा व्यापार कार्ड एक्सचेन्जको काम अनलाइनबाट गर्न लगायत छन् ।

कीडरेनले सबै अनावश्यक यात्रालाई रोक्न सिफारिस गरेको छ भने कोही बाहिर जानु परेमा कुन स्थानमा कुन बाटो भएर अन्य मानिसहरुमा सम्पर्कमा आइरहेका छन् भन्ने कुराको रेकर्ड गराउनुपर्नेछ । कम्पनीले शेयरधनीसँग बैठक आयोजना गर्ने विषयमा विचार गरिरहेको जनाएको छ । उसले भर्चुअल शैलीबाट साक्षात्कार तथा सेमिनार गर्ने उल्लेख गरेको छ ।

यीबाहेक अन्य सिफारिसहरु जापानमा पहिले नै लागु भइसकेका छन् । जसमा दुई मिटर दुरी राख्नुपर्ने, नियमित हात धुनुपर्ने, मास्क लगाउनुपर्ने छन् । जोन हप्किन्स विश्वविद्यालयका अनुसार जापानमा कोरोना भाइरसको मामला १६ हजार अधिक छन् । यो भाइरसका कारण यहाँ ६ सय ९७ जनाको निधन भइसकेको छ ।