मुम्बई(एजेन्सी) । कोरोना भाइरसको महामारीका कारण भएको लकडाउनले सम्पूर्ण गतिविधि ठप्प छ । मानिस मानिसबीच सामाजिक दुरी कायम गरिएको छ । लकडाउनका कारण पसल, मल, फिल्म हललगायत सबै बन्द छन् । फिल्मदेखि टेलिफिल्मको छायांकनको काम पनि रोकिएको छ । फिल्ममा सानोतिनो भूमिका निभाएर आफ्नो परिवार चलाउने कलाकारहरु लकडाउनका कारण संकटमा छन् । काम बन्द भएपछि उनीहरुले ठूलो समस्या भोगिरहनु परेको छ । यस्तै अवस्थामा एक कलाकार सोलंकी दिवाकर यो समय घरायसी आर्थिक संकटलाई टार्नका लागि फलफूल बेचिरहेका छन् ।
बलिउड अभिनेता आयुष्मान खुरानाको ‘ड्रीम गर्ल’ र ‘तितली’ फिल्ममा अभिनय गरिसकेका सोलंकीको आर्थिक अवस्था यो समय खराब छ । सोलंकी लकडाउनका कारण सडकमा आएर फलफूल बेचिरहेका छन् । विवाहित यी कलाकारका दुई सन्तान छन् । सोलंकी कुनै पनि कामलाई सानो वा ठूलो मान्दैनन् । ‘मैले अहिले आफ्नो र परिवारको आवश्यकतालाई ध्यान दिएको छु । वर्तमान अवस्थामा हातमा हात राखेर बस्ने अवस्था छैन । मैले कोठाको भाडा तिर्नुपर्छ । त्यसका लागि फलफूल बेच्नबाहेक अन्य उपाय छैन’, उनले भनेका छन् ।
सोलंकीले ‘कडवी हवा’, ‘सोनचिडिया’, ‘हल्का’ जस्ता फिल्ममा पनि अभिनय गरेका छन् । उनी अभिनेता सैफ अली खानको वेब सिरिज ‘दिल्ली’मा देखिँदैछन् । उनका अनुसार पहिला सिरिजको नाम ‘ताण्डव’ थियो, जसलाई अहिले ‘दिल्ली’ राखिएको छ । आगरा घर भएका सोलंकी विगत २५ वर्षदेखि नयाँदिल्लीमा बस्दै आएका छन् ।