प्रेममा धोका पाएपछि प्रेमीलाई एक टन प्याज

बेइजिङ(एजेन्सी) । पूर्वी चीनमा एक युवकले प्रेममा धोका दिएपछि एक युवतीले उसलाई दण्डित गर्नका लागि घरमा एक टन प्याज पठाइदिएकी छन् । प्रेमीसँग बदला लिन गरिएको यो घटना चीनको सान्दोङ प्रान्तको हो ।

प्रेमीले धोका दिएपछि ती प्रेमिका कैयौं दिन रोएकी थिइन् । अन्त्यमा उनले आफ्नो प्रेमीसँग बदला लिनका लागि यो अनौठो तरिका अपनाइन् । झाओ नामकी ती युवती जिबोमा बस्छिन् । प्रेमीसँग ब्रेकअप भएपछि उनी तीन दिनसम्म रोएकी थिइन् । उनी प्रेमीलाई तीन दिनसम्म आफू रुँदा कति पीडा भयो भन्ने महशुस गराउन चाहन्थिइन् । त्यही कारण उनले अनलाइनमार्फत एक टन प्याज किनिन् र प्रेमीको घर पठाइदिइन् ।

झाओले प्याज विक्रेतालाई यदी प्रेमी सम्पर्कमा आएन भने उसको घरको ढोकामा छोडिदिन अनुरोध गरेकी थिइन् । झाओले प्याज विक्रेतालाई एक सन्देश पनि छोडेकी थिइन् । ‘एक्स ! तिम्रो कारण म तीन दिनसम्म रोएँ । तब रुने पालो तिम्रो हो’ उनको सन्देशमा लेखिएको थियो । झाओले स्थानीय सञ्चारमाध्यमसँग आफूहरु विगत एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका कारण प्रेमीलाई आफूले त्यसै नछोड्ने बताइन् ।

प्रेमीको घर पुगेका डेलिभरी पर्सनको जब झाओका प्रेमीसँग फोन सम्पर्क हुन सकेन, उसले अपार्टमेन्ट बाहिर प्याजको बोरा राखिदिए । डेलिभरी ट्रकलाई एक टन प्याज लिएर प्रेमीको अपार्टमेन्टसम्म पुग्नलाई ५ घण्टा लागेको थियो । झाओको व्यवहार देखेर उनका पूर्व प्रेमीका छिमेकी पनि हैरान भएका छन् । छिमेकीका अनुसार झाओका प्रेमी रोए पनि नरोए पनि यति धेरै प्याज देखेर उनीहरु रोइरहेका छन् ।