कपिल शर्मा शोमा किन जाँदैनन् आमिर ?

मुम्बई(एजेन्सी) । भारतीय टेलिभिजन शोका चर्चित कमेडियन कपिल शर्माको टेलिभिजन शो ‘द कपिल शर्मा शो’मा बलिउडका करिब करिब सबै स्टार पुगिसकेका छन् । यो शोमा कलाकारहरु प्रायशः आफ्नो फिल्मको प्रमोसनका लागि पुग्दछन् । केही स्टार त यो शोमा एक पटक मात्र नभई धेरै पटक पुग्ने गरेका छन् ।

धेरैलाई अनौठो लाग्न सक्ला, यो चर्चित शोमा बलिउडका दिग्गज अभिनेता आमिर खानले अहिलेसम्म पाइला टेकेका छैनन् । आमिरलाई कपिलले आफ्नो शोमा बोलाउनका लागि धेरै प्रयास गरिसकेका छन् । तर उनले हालसम्म यो काममा सफलता पाएका छैनन् । आमिरको फिल्म उद्योगमा काम गर्ने तरिका अलग्गै किसिमको छ भन्ने कुराको सबै जानकार नै छन् ।

आमिर आफ्नो फिल्मको आफैं फरक किसिमले प्रमोसन गरिरहेका हुन्छन् । अब आमिरलाई आफ्नो फिल्म राम्रो छ भन्ने लाग्छ, त्यसको प्रमोसनको आवश्यकता उनी ठान्दैनन् । त्यसैकारण पनि उनी फिल्मको प्रमोसनका लागि टेलिभिजन शोमा पुग्दैनन् ।

त्यसो त आमिर यस्तो किसिमको टेलिभिजन प्रमोसनमा विश्वास गर्दैनन् । तर उनी गत वर्ष करण जोहारको च्याट शो ‘कफी विद करण’मा फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को प्रमोसनका लागि पुगेका थिए । आमिर टेलिभिजन शोमा पुगेको देख्दा दर्शकहरु अचम्मित भएका थिए । करणको शोमा उनी गएपछि कपिलको शोमा पनि आउने धेरैको अनुमान थियो । तर अनुमान केबल अनुमानमै सीमित भयो । कपिलले आमिरलाई शोमा बोलाउनका लागि सम्पर्क गर्दा तत्काललाई समय नमिल्ने बताइएको थियो ।