विजयसहित चारलाई सम्मान

चितवन । राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा चलचित्र पत्रकार संघ नेपालको २१ औं वार्षिक उत्सवको अवसरमा चलचित्र पत्रकार संघ चितवनले कलाकार तथा चलचित्र पत्रकारलाई सम्मान गर्ने भएको छ । संघले नेपाली चलचित्रमा अतुलनिय योगदान र्पुयाउने एक कलाकार, चितवनमा रहेर चलचित्र पत्रकारिता गरिरहेका २ जना पत्रकार र काठमाडौंमा रही चलचित्र पत्रकारिता गरिरहेका एक पत्रकारलाई सम्मान गर्ने भएको हो ।

संघले यस पटकदेखी हरेक बर्ष चलचित्र पत्रकारिता दिवस तथा संघको बार्षिक उत्सवको अवसरमा कलाकार तथा चलचित्र पत्रकारलाई सम्मान गर्ने जनाएको छ । संघले यस पटक कलाकार ऋद्धिचरण श्रेष्ठ, चितवनका चलचित्र पत्रकारद्वय किशोर खनाल र सुशील पन्त र काठमाडौंका बिजय आवाज (सुवेदी) लाई सम्मान गर्ने भएको हो । उनीहरुलाई जनही ५ हजार ५ सय नगदसहित सम्मान गरिने संघका उपाध्यक्ष रामेश्वर रिजालले बताए ।

संघले नेपाली चलचित्र क्षेत्रमा र्पुयाएको महत्वपूर्ण योगदानको कदर गर्दै कलाकार श्रेष्ठलाई सम्मान गर्न लागेको हो । श्रेष्ठले नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि र्पुयाएको अतुलनिय योगदानको उच्च कदर गर्दै सम्मान गर्न लागिएको संघ चितवन शाखाका अध्यक्ष रवि अधिकारीले बताए । श्रेष्ठ करिब ४० बर्षदेखी चलचित्रमा अभिनय गर्दै आइरहेका छन् । उनले वि स २०३९ सालमा ’कान्छी’ बाट चलचित्रमा डेब्यु गरेका थिए । त्यसयता उनले ७० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । ’कान्छी’ ’मोहिनी’ ’मनकामना’ ’माइली’ ’माइती’ ’सुख दुस्ख’ ’दाइजो’ लगायत श्रेष्ठका दर्जनौ हिट चलचित्र रहेका छन् । पछील्लो पटक उनले निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा आधारित चलचित्र ’कोपिला’ मा अभिनय गरेका छन् ।

वर्गीकृत राष्ट्रिय दैनिकबाट पत्रकारिता शुरु गरेका खनाल १७ बर्षदेखी यही क्षेत्रमा आबद्द छन् । हाल उनी चितवन पोष्टको सम्पादकको रुपमा कार्यरत रहेका छन् । यस्तै पन्त चितवनमा रही ७ बर्षदेखी चलचित्र पत्रकारिता गरिरहेका छन् । २०७० सालमा भरतपुरस्थित रेडियो त्रिवेणीबाट चलचित्र पत्रकारिता शुरु गरेका पन्त अहिले एटुजेड समाचार डटकममा सह सम्पादकको रुपमा कार्यरत छन् । उनी चलचित्र पत्रकार संघका केन्द्रीय प्रतिनिधि समेत हुन् ।

सुवेदी काठमाडौंमा रहेर १५ बर्षदेखी चलचित्र पत्रकारिता गरिरहेका छन् । २०६२ सालमा रेडियो उपत्यकाबाट चलचित्र पत्रकारिता शुरु गरेका पौडेल हाल अनलाइन खबर डटकममा मनोरन्जन विधा तर्फ वरिष्ठ उप सम्पादकको रुपमा कार्यरत छन् । उनी यस अघी चलचित्र पत्रकार संघको केन्द्रीय समितिबाट पनि सम्मानित भइसकेका छन् । सम्मानित कलाकार तथा पत्रकारको नाम बुधबार सार्वजनिक गरिएको र कोरोना भाइरसको महामारी कम भए लगत्तै औपचारिक कार्यक्रम आयोजना गरी सम्मान गरिने अध्यक्ष अधिकारीले बताए ।