कोरोना संक्रमित पत्ता लगाउन स्मार्ट हेलमेट

रोम(एजेन्सी) । कोरोना भाइरस पत्ता लगाउनका लागि विश्वभर आधुनिक डिभाइसको प्रयोग गरिएको छ । यही क्रममा इटलीमा स्मार्ट हेलमेटको शुरुवात गरिएको छ । यो हेलमेट भित्र क्यामरा र थर्मल स्क्रेनर जडान गरिएको छ ।

रोम एयरपोर्टमा यात्रीहरुले स्मार्ट हेलमेटका माध्यमबाट आफ्नो स्वास्थ्य अवस्था थाहा पाउन सक्छन् । यो हेलमेटको प्रयोग कोरोना भाइरसको संक्रमण पत्ता लगाउनका लागि गरिएको इटलीको सरकारले जनाएको छ । एयरपोर्टमा यात्री र कर्मचारीहरुको तापमान आधुनिक डिभाइसको माध्यमबाट जाँचिन्छ । हेलमेट भित्र जडित क्यामरा र थर्मल स्क्रेनरले मानिसको शरीरको उतारचढाव पत्ता लगाउँछ ।

एयरपोर्टमा सुरक्षा अधिकारीहरु हेलमेट लगाएर यात्रु तथा कर्मचारीको स्क्यान गर्दछन् । हेलमेटले आफ्नो चारै तिर देख्न सकिने मानिसहरुको अनुहारलाई नियाल्दछ । साथै सात मिटर दुरीमा रहेको व्यक्तिको तापक्रम पनि बताउनेछ । हेलमेट लगाएर यात्रीको आँखाको सामु उसको पूरा शरीरको स्क्यान गरिन्छ ।

स्मार्ट हेलमेटको प्रयोग गर्ने रोम यूरोपको पहिलो सहर हो । यद्यपि यसअघि संयुक्त अरब इमिरेट्स र चीनमा आधुनिक डिभाइसको प्रयोग भइसकेको छ ।अधिकारीहरुले प्रविधिको प्रयोगले यात्री सुरक्षित र निश्चित भएर आफ्नो घर जान सहयोग पुग्ने बताएका छन् । रोम एयरपोर्टमा आगामी महिनाबाट सबै उडान शुरु हुँदैछ । स्मार्ट हेलमेट इटली र चीनका इन्जिनियरले मिलेर बनाएका हुन् ।