पाकिस्तान विमान दुर्घटनाको फुटेज सार्वजनिक

कराची(एजेन्सी) पाकिस्तानको कराचीमा शुक्रबार दिउँसो भएको विमान दुर्घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएको छ । जसमा विमान कराची एयरपोर्टमा अवतरण गर्नु अघि नै एक मानव बस्तीमा झरेको देख्न सकिन्छ । बीबीसी उर्दूका जीशान हैदरले यो दुर्घटनाको सीसीटीवी फुटेज ट्वीट गरेका छन् । जहाँ झर्दै गरेको देख्न सकिन्छ ।

जीशानले ट्वीटमा फुटेजमा विमानको इन्जिनमा आगो लागेको नदेखिएको जनाएका छन् । यो विमान पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको ए३२० एयरबस नम्बरको थियो, जुन लाहोरबाट कराचीका लागि उडेको थियो । विमानमा ९९ यात्रु सवार थिए, जसमा ८७ जनाको मृत्यु भइसकेको छ भने दुई घाइते भएका छन् ।

कराची पुगेको विमान एयरपोर्टमा अवतरण हुनु केही समय अघि रिहाइसी इलाकामा रहेको जिन्ना गार्डन मोडल कोलोनीमा झरेको थियो । जहाँबाट एयरपोर्ट मात्र ३ दशमल २ किलोमिटर दुरीमा छ । दुर्घटना अघि विमानका चालकले इन्जिनमा खराब आएको टावरलाई जानकारी दिएका थिए ।

पीआइएका मुख्य अधिकारी एयर भाइस मार्सल अरशद मलिकले पाइलटले ट्राफिक कन्ट्रोललाई विमानमा प्राविधिक समस्या आएको बताएको जनाएका थिए । उनीसँग पाइलट र एयर ट्राफिक कन्ट्रोलबीच भएको कुराकानीको रेकर्ड छ । रेकर्डमा पाइलटले ‘विमानको दुई इन्जिनले काम गर्न छोडेको छ । मे डे, मे डे’ भनेका छन् ।