आगामी साताबाट अवतारको निरन्तरता

लसएन्जल्स(एजेन्सी) । हलिउड निर्देशक जेम्स क्यामरुनको बहुप्रतिक्षित फिल्म ‘अवतार’को सिक्वेलको निर्माण आगामी हप्ताबाट न्यूजिल्याण्डमा शुरु हुने भएको छ । निर्माता जोन लेन्डोले बिहीबार इन्स्टाग्राममा आफू तथा फिल्मका बाँकी कलाकार र प्राविधिक टोली आगामी हप्ता न्यूजिल्याण्ड पुग्ने उल्लेख गरेका छन् ।

लेन्डोले फिल्ममा प्रयोग गरिएको दुई पानी जहाजको तस्बिर पनि सार्वजनिक गरेका छन् । ‘हाम्रो अवतार सेट तयार छ र हामी आगामी हप्ता न्यूजिल्याण्ड जानका लागि उत्साहित छौं’, उनले लेखेका छन्, ‘मेटाडोर, एक हाई स्पीड फरवर्ड कमाण्ड पोत (बटम) र पिकाडोर जेटबोट (टप) हेर्नुहोला । यसलाई शेयर गर्नका लागि अब पर्खन सकिन्नँ ।’

कोरोना भाइरसको महामारीका कारण मार्चमा न्यूजिल्याण्ड सरकारले लकडाउनको घोषणा गरेपछि ‘अवतार’को सिक्वेलको काम बन्द भएको थियो । यसअघि एम्पायरसँगको एक साक्षात्कारमा क्यामरुनले ‘अवतार २’ योजना अनुसार रिलिज गर्ने बताएका थिए । यो फिल्म आगामी सन् २०२१ को डिसेम्बर १७ मा रिलिज हुनेछ ।

बताइए अनुसार ‘अवतार २’ पहिलो फिल्मको घटनाको १२ वर्षपछिको कथा हुनेछ । यसको पहिलो भाग एउटा ठूलो सफलता थियो । जुन सन् २००९ मा रिलिज भएको थियो र यो फिल्म सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो ।