गिरफ्तारीबाट बच्न मृत्युको नाटक

लीमा(एजेन्सी) । कोरोना भाइरसको महामारीमा जुधिरहेको ल्याटिन अमेरिकी देश पेरुको एक सानो सहरका मेयरले स्थानीय प्रहरीको गिरफ्तारीबाट बच्नका लागि मृत्युको नाटक गरेका छन् । मेयर जेमिए रोलान्डोले कोरोना लकडाउनको नियम उल्लंघन गर्दै साथीहरुसँग बसेर मदिरा पार्टी गरिरहँदा प्रहरी उनलाई गिरफ्तार गर्न पुगेको थियो । तर उनले आफूले कोरोना भाइरसको कारण मरेको अभिनय गर्दै कफिनभित्र सुतेका थिए ।

गत सोमबा राती जब प्रहरी अधिकारीहरु दक्षिणी पेरुको तन्तारा सहरको मेयर रोलान्डोलाई गिरफ्तार गर्न पुगेका थिए, उनले आफूलाई एक खोलिएको कफिनमा सुताए । मेयरले मास्क लगाएका थिए । प्रहरीले उनको तस्बिर खिचेको थियो । प्रहरीले तस्बिर खिचेर मेयरलाई पक्राउ गरेको थियो ।

रोलान्डोलाई कोरोना भाइरसलाई हल्का रुपमा लिएको र सहर भित्र सुरक्षा मानकको ख्यालन नगरेको आरोप पहिले नै लागिसकेको छ । पेरुमा ६६ दिन लकडाउन घोषणा गरिएको छ । समाचार अनुसार स्थानीय मानिसहरु रोलान्डोको व्यवहारबाट आक्रोशित थिए । उनीहरुले मेयर लकडाउन शुरु भएको ६६ दिनमा केवल ८ दिन मात्र सहरमा बसेको आरोप लगाएका छन् ।