काठमाडौं । नेपालका लागि आवश्यक सामान बोकेको चिनियाँ रेल शीआनबाट नेपालका लागि हिँडेको छ । नम्बर ४९०७४ चीन–यूरोप ट्रेन पीबीसी पाइप, ड्रिलिङ मोड्यूल, ग्राउटिङ ट्यूब, कपडाका जुत्ता, प्रिन्टरलगायतका सामान बोकेर चीनको शीआनबाट काठमाडौंका लागि हिँडेको हो । चीन–यूरोप ट्रेन शुरू भएपछि चीनको शानशी प्रान्तबाट दक्षिण एसियासम्म चल्ने यो पहिलो रेल कार्गो सर्विस हो ।
यो रेल कार्गो सर्विस रेल्वे तिब्बतको शिकाजेसम्म आउनेछ । त्यहाँबाट गाडीका माध्यमबाट सामानहरु चीन–नेपाल सीमामा रहेको चीलुंगा बन्दरगाहमा ल्याइनेछ । यी सामान ८ दिन भित्र काठमाडौं आइपुग्नेछ । शीआनबाट काठमाडौंसम्म रेल कार्गो सेवा खुलेपछि चीनको शानशी प्रान्तबाट दक्षिण एसियासम्म रेल माल परिवहन शुरु भएको छ । जसले गर्दा पहिलाको समुन्द्री परिवहनबाट लागत घटेको छ ।
चीनको मध्य र पश्चिमी क्षेत्रमा रासायनिक उद्योग, मेसिनरी सामान निर्माण, उर्जा, विशेष लाइट उद्योग, सामाग्री, उपकरण निर्माणलगायतका उत्पादनलाई नेपाल प्रवेशमा प्राथमिकता दिइएको छ । वर्तमानमा चीन–यूरोप ट्रेन(शीआन) कार्गो सर्भिसको चार एसियाली लाइन खोलिएको छ । जो मध्य एसिया, पश्चिम एसिया र दक्षिण एसियालाई समेट्नेछ ।