सलमानलाई स्वादविहिन इद

मुम्बई(एजेन्सी) । कोरोना भाइरसको कारण यसपटकको इदमा कुनै पनि बलिउड फिल्मले धमाल गर्ने छैन । हरेक वर्ष इदमा फ्यानका लागि आफ्नो फिल्म उपहार दिने बलिउड अभिनेता सलमान खानले पनि यो इदमा कुनै फिल्म रिलिज गर्न पाएनन् । कोरोना भाइरसका कारण बलिउडलाई ठूलो नोक्सान भएको छ । वर्षौपछि बलिउडका सिनेमा घरमा इदको बेलामा यसपटक दर्शक छैनन् ।

सलमानको कुरा गर्दा यी अभिनेता सन् २०१३ बाहेक सन् २०१० देखि लगातार इदमा आफ्नो फिल्म रिलिज गरिरहेका छन् । यो १० वर्षको अवधिमा सन् २०१३ को इदमा मात्र उनको फिल्म रिलिज भएन । सलमानको हाल छायांकनरत फिल्म ‘राधेः युअर मस्ट वान्टेड भाइ’ पनि यसै इदमा आउने तयारीमा थियो । तर विश्वव्यापी कोरोना भाइरसको महामारीले फिल्मको छायांकन नसकिएपछि रिलिज हुन पाएन ।

इदको समयमा रिलिज भएका सलमानका प्रायः सबै फिल्म बक्सअफिसमा हिट साबित भइसकेका छन् । इदको पहिलो दिन उनका फिल्मको कमाई पनि राम्रो छ । सन् २०१० मा फिल्म ‘दबंग’ पहिलो दिन १४ दशमलब ५० करोड, सन् २०११ मा ‘बडीगार्ड’ले २१ दशमलब ६० करोड, सन् २०१२ मा ‘एक था टाइगर’ले ३२ दशमलब ९३ करोड, सन् २०१४ मा ‘किक’ले २६ दशमलब ४० करोड, सन् २०१५ मा ‘बजरंगी भाइजान’ले २७ दशलमब २५ करोड, सन् २०१६ मा ‘सुल्तान’ले ३६ दशमलब ५४ करोड, सन् २०१७ मा ‘ट्युबलाइट’ले २१ दशमलब १५ करोड, सन् २०१८ मा ‘रेस ३’ले २९ दशमलब १७ करोड र सन् २०१९ मा ‘भारत’ले ४२ दशमलब ३० करोड रुपैंयाँ पहिलो दिनमा कलेक्सन गरेको थियो ।

फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाइ’को सुटिङ करिब करिब पुरा भइसकेको छ । अब फिल्मको अन्तिम सेड्युलको सुटिङ र सम्पादन बाँकी छ । अब यो फिल्म दिवालीमा रिलिज हुनेछ ।