रेडी अभिनेता मोहित रहेनन्

मुम्बई(एजेन्सी) । अभिनेता सलमान खान अभिनित फिल्म ‘रेडी’मा अमर चौधरीको भूमिकामा अभिनय गर्ने कलाकार मोहित बघेलको २६ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि क्यान्सरसँग जुधिरहेका मोहितको ६ महिनादेखि दिल्लीको एम्स अस्पतालमा उपचार भइरहेको थियो ।

निर्देशक तथा लेखक राज सान्डिल्यका अनुसार अभिनेताले शनिबार बिहान आफ्नो गृहनगर मथुरामा अन्तिम सास फेरेका थिए । ‘उनी निकै छिटो गए । उनको पछिल्लो ६ महिनादेखि दिल्लीको एम्स अस्पतालमा क्यान्सरको उपचार भइरहेको थियो । मैले उनीसँग १५ मेमा कुराकानी गरेको थिएँ । त्यो समयमा उनी ठिक थिए । उनी मातापिता र ठूलो दाईसँग मथुरामा बस्दै आएका थिए’, उनले भनेका छन् ।

मोहितले फिल्म ‘इक्कीस तोपों की सलामी’ र ‘गली गली चोर है’मा पनि अभिनय गरेका थिए । उनी चाँडै नै फिल्म ‘बन्टी और बबली २’मा पनि देखिँदैथिए । जुन फिल्मको सुटिङ गत जनवरीबाट शुरु भएको थियो ।