किरण कुमारलाई कोरोना संक्रमण

मुम्बई(एजेन्सी) । एक समयका बलिउडका लोकप्रिय अभिनेता किरण कुमारलाई कोरोना संक्रमण भएको छ । उनलाई अहिले घरमै क्वारेन्टाइनमा राखिएको छ । दश दिन अघि मात्र उनको कोरोना टेस्ट रिपोर्ट पोजेटिभ आएको थियो । उनको अर्को कोभिड–१९ टेस्ट मे २५ वा २६ मा हुनेछ ।

अभिनेता किरणले आफू अस्पतालमा एक सामान्य जाँचका लागि जाँदा आफूमा कोरोना पोजेटिभ भएको थाहा पाएको बताए । ‘टेस्ट प्रक्रिया पुरा हुनुअघि मैले केही प्रारम्भिक परिक्षण गर्नुपर्यो । मलाई लाग्छ, अहिलेको अवस्थामा आफू सावधान हुनुपर्ने भएकाले मैले त्यही समयमा कोभिड–१९ को टेस्ट पनि गरें । जसबाट मेरो रिपोर्ट पोजेटिभ देखियो’, उनले भनेका छन् ।

उनले आफ्नो शरीर भित्र कोरोना सम्बन्धी कुनै पनि लक्षण नदेखिएको बताए । ‘न मलाई ज्वरो, न रुघाखोकी र न त श्वास लिन नै समस्या थियो । म पूर्ण रुपमा स्वस्थ महशुस गरिरहेको थिएँ । मलाई कोरोना सम्बन्धी कुनै लक्षण नभएकाले पनि मैले कोरोना परीक्षण आवश्यक ठानिनँ’, उनले भनेका छन् ।

किरणको दुई तले घर छ । उनी घरको माथिल्लो तलामा क्वारेन्टाइनमा छन् भने उनको श्रीमति र छोराछोरी पहिलो तलामा बस्छन् । यसअघि बलिउड गायिका कनिका कपूर, फिल्म निर्माता करीम मोरानी र उनकी दुई छोरी, अभिनेता पूरब कोहली, अभिनेता फ्रेडी दारुवालाका पिता, अभिनेता सत्यजीत दुबेकी आमा पनि कोरोना संक्रमित भइसकेका छन् ।