शाहरुखको शोलाई चोरीको आरोप

मुम्बई(एजेन्सी) । साता अघि ओटीटी प्लेटफर्ममा रिलिज हुन लागेको नयाँ हरर शो ‘बेताल’को ट्रेलर अनलाइन रिलिज भएको थियो । यो ट्रेलरलाई दर्शकले निकै रुचाए । यो शोलाई शाहरुख खानको कम्पनी रेड चिलिज इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

तर अहिले यो शो रिलिज नहुँदै विवादमा फसेको छ । शोका मराठी लेखक समीर वाडेकर र महेश गोसावीले शोको कथा उनीहरुको फिल्म ‘बेताल’बाट चोरिएको आरोप लगाएका छन् । दुवै लेखकले आफ्नो स्क्रिप्टलाई स्क्रिन राइटर्स एसोसिएसनमा पहिला नै दर्ता गरेको र आफ्नो कथा चोरिएकोमा एसोसिएसनमा उजुरी दर्ता गराइएको बताए ।

‘हामीले एक वर्ष अघि नै स्क्रिप्ट दर्ता गराएका थियौं र केही दिन पछि नै जुलाई २०१९ मा फिल्मको सुटिङ शुरु गरेका थियौं । हामीले फिल्मको अवधारणा लिएर कैयौं निर्मातालाई भेट्न गएका थियौं । तर हामीले रेड चिलिज इन्टरटेनमेन्टसँग कुनै कुराकानी गरेका थिएनौं । अहिले उच्च अदालतमा यो विषयमा सुनुवाई चलिरहेको छ’, उनीहरुले भनेका छन् ।

लेखकहरुले कथाको अवधारणासँगै स्क्रिप्टका केही दृश्य पनि चोरिएको दाबी गरे । यद्यपि अदालतले वाडेकर र गोसावीको उजुरीमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । तर अदालतले यो आरोप सही भएमा जरिवानाको दाबी गर्न सक्ने उल्लेख गरेको छ । हालसम्म शाहरुखको कम्पनीले यो विषयमा केही कुरा बोलेको छैन ।