मजदुरले राखे बच्चाको नाम सोनू सूद

मुम्बई(एजेन्सी) । कोरोना भाइरसबाट बच्नका लागि भारतमा लकडाउन छ । लकडाउनको समयमा समस्यामा परेका व्यक्तिहरुलाई अभिनेता सोनू सूद सहयोग गरिरहेका छन् । पछिल्लो दुई हप्तामा उनले मुम्बईबाट प्रवासी मजदुरहरुलाई बसका माध्यमबाट घरसम्म पुर्याइरहेका छन् । सोनू दिनरात नभनी काममा जुटेका छन् ।

सोनुले जुन व्यक्तिहरुलाई घर पठाइरहेका छन्, तीमध्ये एक महिलाले सन्तान जन्माएकी छन् । जसको नाम सोनू सुद श्रीवास्तव राखिएको छ । यो कुराले सोनू भावुक भएका छन् । सोनुका अनुसार उनले १२ मेमा एक समूहलाई दरभंगा पठाएका थिए । यो समूहमा दुई गर्भवती महिला पनि थिए । उनीहरु घर पुगेपछि छोरा जन्मिएको थियो । उनीहरुले तुरुन्तै सोनूलाई फोन गरेर बच्चाको नाम सोनू सूद राखेको जानकारी दिए ।

सोनुका अनुसार उनलाई मानिसहरुले लगातार फोन गरिरहेका छन् । ‘मलाई भारतबाट करिब ५६ हजार म्यासेज दैनिक आउँछ । यो चुनौतीपूर्ण काम हो, तर पनि सहयोग गरिरहनुपर्छ । भगवानले के के सिकाउँछन् र के के गराउँछन् । मलाई हरेक ठाउँबाट प्रेम मिलिरहेको छ’, उनले भनेका छन् ।