अस्ताए गीतकार रत्न शमशेर

काठमाडौं । वरिष्ठ गीतकार रत्नशमशेर थापाको ८३ वर्षको उमेरमा बिहीबार निधन भएको छ । बुधबार बेलुका अस्वस्थ भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनले बिहीबार बिहान साढे ११ बजे अन्तिम सास फेरेका हुन् ।

लामो समयदेखि क्रोनिक ब्रोन्काइटिसबाट पीडित थापाको डेढ महिना अघि त्रिभूवन शिक्षण अस्पताल महाराजगन्जमा शल्यक्रिया गरिएको थियो । उनी त्यसता कमलपोखरीस्थित घरमै आराम गरिरहेका थिए ।

गीतकार थापाले लेखेका ‘घुम्तीमा नआउ है’, ‘पन्छीमा राम्रो डाँफे’, ‘ए कान्छा ठट्टैमा’, ‘जाग लम्क चम्क हे’, ‘ए कान्छा ठट्टैमा यो बैश’, ‘स्वर्गकी रानी’, ‘गोरेटो त्यो गाउँको’, ‘उकाली ओराली गर्दै’, ‘सप्तरंगी फूलै फूल्यो’ र ‘विछोडको पीडा’लगायतका गीत हिट छन् ।