सरिताको गीतमा कोरोना कहर

काठमाडौं । सञ्चारकर्मी तथा गायिका सरिता भारतीको नयाँ गीत ‘देशै रोयो कोरोनाले’ को भिडियो बजारमा आएको छ । यो गीतमा चेतन गोतामे र गायिका भारतीले सहकार्य गरेका छन् । गायक गोतामे नेपाल लोकस्टारका रनरअप हुन् । गीतमा महेश बिक्रम पाण्डे र पुजा गुरुङको पनि स्वर सुन्न सकिन्छ । गीतमा सागर प्रधानको शब्द र संगीत छ ।

गीतको भिडियोमा गायक चेतन र गायिका सरिता फिचर्ड छन् । गायकगायिकासँगै अन्य २० जना भन्दा बढी कलाकारलाई भिडियोमा समेटिएको छ । गायिका भारतीले लकडाउनकै समयमा गीतको रेकर्ड गरिएको बताइन् । उनका अनुसार यो गीतको भिडियो पनि दुई दिन तयार गरेर रिलिज गरिएको हो । विक्रम चौहानले निर्देशन गरेको यो भिडियोलाई राजकुमारले सम्पादन गरेका हुन् ।

यसअघि आधुनिक, लोक, पप गीत बजारमा ल्याईसकेकी गायिका सरिताले राष्ट्रिय भावको गीत भने पहिलो पटक गाएको बताईन् । मुलुकमा लकडाउन हटेपछि अब शम्भुजीत बासकोटाको संगीत रहेका आफ्नो एकल गीत ए राजा झट्टै बजाईदेउ बाजा’ को भिडियो रिलिज गर्ने सरिताले बताईन् । उनको यो गीत पनि रेकर्ड भईसकेको छ ।