सुपरहिरो फिल्ममा कटरीनाको एक्सन

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री कटरीना कैफले पुनः एकपटक आफ्ना मनपर्ने निर्देशक अली अब्बास जफरसँग सहकार्यको हात अगाडि बढाएकी छन् । उनी जफरले निर्देशन गर्ने एक सुपरहिरो फिल्ममा प्रमुख भूमिकामा देखिनेछिन् । जफरद्वारा निर्देशित फिल्म ‘भारत’ गत वर्षको इदमा रिलिज भएको थियो । जफर नयाँ फिल्मको स्क्रिप्टको काम गरिरहेका छन् । यो समयमा भारतभर लकडाउन भएपछि अली गृहनगर देहरादुनमा आफ्नो परिवारका साथ समय बिताइरहेका छन् ।

‘मैले आफ्नो सुपरहिरो फिल्मको स्क्रिप्टको काम पुरा गरिसकेको छु । यो फिल्ममा कटरीना प्रमुख भूमिकामा हुनेछिन् । लकडाउन सकिनासाथ हामी फिल्मको सुटिङ शुरु गर्नेछौं । यसबाहेक अर्को एक नयाँ फिल्मको पहिलो ड्राफ्ट पनि पुरा भइसकेको छ । आशा छ कि स्क्रिप्ट चाँडै नै पुरा हुनेछ’, उनले भनेका छन् ।

उनका अनुसार फिल्ममा थुप्रै एक्सन दृश्य हुनेछन् । उनले आफू स्क्रिप्टको आवश्यकअनुसार अन्तर्राष्ट्रिय समूहसँग भिडियो कलमार्फत सम्पर्क गरिरहेको बताए । ‘म अहिले सह–कलाकारका साथ स्क्रिप्ट पढ्ने काम गरिरहेको छु । प्रोडक्सन डिजाइनरसँग मेरो कुराकानी भइरहेको छ । म लकडाउनमा फिल्मसँग जोडिएका हरेक चुनौतीलाई समाप्त पार्ने कोशिस गरिरहेको छु’, उनले भनेका छन् ।

यो सुपरहिरो फिल्म दुई भागमा रिलिज हुनेछ । यो फिल्मका अलावा अली अब्बास जफर ‘मिष्टर इण्डिया २’ को स्क्रिप्टमा पनि तिब्रा गतिमा काम गरिरहेका छन् । यो फिल्ममा रणवीर सिंह प्रमुख भूमिकामा देखिनेछन् ।