अरशदका ड्राइभर थिए अभिषेक

मुम्बई(एजेन्सी) । बलिउडमा ब्रेक पाउनका लागि कैयौं मानिसलाई वर्षौसम्म संघर्ष गर्नुपर्छ । कतिपयलाई त वर्षौसम्म संघर्ष गर्दा पनि मौका मिल्दैन । फिल्ममा अभिनय गर्ने कलाकारका सन्तानलाई फिल्ममा काम गर्ने अवसर सजिलै दिइन्छ । तर उनीहरु आफूलाई साबित गराउनु पर्ने चुनौती कम छैन ।

अभिनेता अभिषेक बच्चनले हालै एक अन्तरवार्तामा आफूले गरेको संघर्षको बारेमा विस्तृत खुलासा गरेका छन् । अभिषेकका अनुसार उनले फिल्ममा काम पाउनकै लागि कलाकारको ड्राइभर बन्ने, चिया बनाउने र सरसफाईसम्मको काम गरेका थिए । अमिताभ बच्चन र जया बच्चनको छोरा अभिषेकले फिल्म उद्योगमा पाइला चाल्न यस्तो काम गरेका हुन् भन्ने सुन्दा जोकोहीलाई अपत्यारिलो लाग्न सक्छ । सन् २०१० मा उनले एक पत्रिकालाई दिएको अन्तरवार्तामा आफूले प्रोडक्सन सहायकका रुपमा काम गरेको बताएका छन् ।

‘मलाई एक फिल्म पाउनका लागि दुई वर्ष लाग्यो । फिल्म पाउनु अघि मैले प्रोडक्सन ब्वाइका रुपमा काम गर्थे । मानिसका लागि चिया बनाउनु, स्टुडियोको फर्स सफा गर्नु मेरो काम थियो । म अरशद वारसीको ड्राइभर पनि थिएँ ’

अभिषेकले सन् २००० मा करीना कपूरका साथ फिल्म ‘रिफ्यूजी’बाट बलिउडमा डेब्यू गरेका थिए । आफ्नो करियरको पहिलो तीन वर्षमा उनले कमै सफलता पाए । ‘जब एक पछि अर्को फिल्म फ्लप हुँदै गयो, त्यो बेला घरबाहिर निस्कन मन नै मानेन । म सिसामा आफ्ना लागि लेखिएको खराब समीक्षालाई टासिदिन्थें । समीक्षकले आलोचना गरेका कुरालाई सुधार्न काम गर्थे’, उनले भनेका छन् ।