प्रकाशको मैले देखेको कथामा थमिनी भोगाइ

काठमाडौं । लकडाउनको समयमा खोटाङको हलेसी तुवाचुङ्ग नगरपालिकास्थित बिजुलेकी ८५ वर्षीया दलित वृद्ध थमिनी बढेमाको विषयमा डकुमेन्ट्री भिडियो ‘मैले देखेको कथा’ निर्माण भएको छ । पटकथा लेखक तथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले तयार पारेको योे वृत्तचित्रमा समाजबाट सदियौंदेखि छुवाछुतको भेदभाव भइरहेको, गाउँभरीको एक मात्र दलित तथा विपन्न परिवारकी ८५ वर्षीय थमिनीको जीवन भोगाइ र अनुभवलाई समेटिएको छ ।

थमिनीका १० सन्तानमध्ये ८ को निधन भइसकेको छ भने २ वेपत्ता छन् । उनको आफ्नो नामको जग्गामा घर छैन । गाउँभरी खानेपानी, बिजुली र सडकको सुविधा भए पनि यो सुविधाबाट उनी बञ्चित छिन् । छिमेकीविहिन थमिनी गाउँकै वृद्ध महिला हुन् । वृद्धभत्ताले जीवनयापन गरिरहेकी उनी डोको र नाम्लोमा जिन्दगी बिताइरहेकी छन् । २० मिनेटको यो डकुमेन्ट्रीमा पीडाबीच पनि थमिनीको हाँसो प्रष्ट देख्न सकिन्छ ।

प्रकाशका अनुसार वृत्तचित्र लकडाउनको समयमा गाउँमा बसिरहँदा मोवाइलबाट खिचेर तयार पारिएको हो । ‘यस कथाको माध्यमबाट थमिनी बढेमाजस्ता उत्पीतिहरुको आवाज उठाउन खोजेको छु’, उनले भने । यो डकुमेन्ट्री भिडियो प्रकाश पुरी नामक युट्युव च्यानलमा अपलोड गरिएको छ र यसलाई मैले देखेको कथा नाम दिइएको छ ।