चिनियाँ एयरलाइन्सलाई अमेरिका आवतजावतमा रोक

न्यूयोर्क(एजेन्सी) । अमेरिकाले चीन आउने जाने उडानहरुलाई जून १६ देखि रोक लगाउने भएको छ । अमेरिकाको यो निर्णयले दुवै देशबीच बढ्दै गएको तनावको संकेतका रुपमा हेरिएको छ । अमेरिकाको यातायात विभागले अमेरिकाको यो कदम चीनले आफ्नो देशमा अमेरिकी उडानलाई प्रवेश गर्न अनुमति नदिएपछिको जबाफ रहेको जनाएको छ ।

यो समयमा चीनमा कोरोना महामारी विस्तारै सकिँदै गएको छ भने अमेरिकामा विश्वकै सबैभन्दा प्रभावित भइरहेको छ । हालैका दिनमा दुवै देशबीच कोरोना भाइरस महामारी र हङकङ मुद्धामा तनाब बढेको छ । अमेरिकाले हवाई यात्राको मुद्दामा चीनसँग वार्ता हुने बताएको छ । यातायात विभागको आदेश चीनका चार एयरलाइन्समा लागु गरिएको छ । जसमा एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, हैनान एयरलाइन्स र चाइना सदर्न एयरलाइन्स छन् । यी एयरलाइन्सले महामारीका समयमा पनि अमेरिकामा उडान गरिरहेका थिए ।

यातायात विभागको यो फैसलालाई प्रभावकारी बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुमति आवश्यक पर्छ । ट्रम्पले हालैका दिनमा चीनप्रति आक्रामक रवैया अपनाएका छन् । उनी चीनमाथि अनुचित व्यापारको आरोप लगाइरहेका छन् । अमेरिकाको यो निर्णयमा चीनमा रहेको अमेरिकी दुतावासले कुनै प्रतिक्रिया दिएको छैन । गत मार्चमा चीनले घरेलू तथा विदेशी एयरलाइन्स चीन वा कुनै पनि देशका बीच हप्तामा एक मात्र उडान गर्न सक्ने बताएका थियो । चीनले एयरलाइन्सहरु आफ्नो मार्च १२ को क्षमताबाट अगाडि जान नसक्ने बताएको थियो ।

विभागले यो महिना चीनले अमेरिकी एयरलाइन्सलाई पुनः उडान शुरु गर्न अनुमति दिएको थिएन । जुन दुवै देशबीच सन् १९८० मा भएको हवाई यात्रा सम्झौताको उल्लंघन रहेको उसले जनाएको छ ।