मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान फिल्म उद्योगको हट स्टार मात्र होइनन, अविवाहित अभिनेता पनि हुन् । उनको रोमान्स र अफेयरको किस्साले बलिउड गरमाइरहेको हुन्छ । सायदै त दर्शकले एउटा कुरालाई नजिकबाट नियालेका छैनन् होला, उनको अभिनेताका रुपमा अभिनय गरेको पहिलो फिल्म ‘मेने प्यार किया’ देखि पछिल्लो फिल्म ‘दबंग ३’ सम्म आइपुग्दा उनले कुनै पनि अभिनेत्रीसँग अनस्क्रिन चुम्बन गरेका छैनन् । उनी चुम्बन गर्न डराउँछन् या लजाउँछन्, यो कुराको खुलासा उनी आफैंले गरेका छन् ।
सलमानको पहिलो फिल्म ‘मेने प्यार किया’मा उनकी अभिनेत्री भाग्यश्री एक फोटोसुटमा उनलाई सलमानले चुम्बन गर्न खोज्दा डराएकी थिइन् । भाग्यश्री त्यो समयमा आफ्नो घरमा कसैलाई नभनी गुपचुप आफ्नो प्रेमी हिमालयसँग विवाह गरिसकेकी थिइन् । उनलाई जसरी भए पनि फिल्मको सुटिङ सक्नुपर्ने थियो । तर जब उनले सलमानको एउटा कुरा सुने, तब उनी चकित भइन् । जसकारण उनको मनमा सलमानका लागि सम्मान पनि जाग्यो । सलमानले फोटोग्राफरलाई आफू कुनै युवतीको अनुमति बिना चुम्बन गर्न नसक्ने बताएका थिए ।
सलमानले आफ्ना हरेक प्रेमिकासँग डुबेर नै प्रेम गरेका छन् । तर उनले आफ्नो प्रेमको किस्सा कहिल्यै सार्वजनिक गरेनन् । फिल्ममा निर्माता तथा निर्देशक चुम्बन दृश्य राख्न चाहदैन थिए भन्ने कुरा पनि होइन । तर प्रेमको किस्सा सार्वजनिक नगर्नुको एउटा कारण यसलाई पनि मानिएको छ ।
केही वर्ष पहिले सलमानले एक पत्रिकामा दिएको अन्तरवार्तामा उनले आफू परम्परावादी नरहेको बताएका थिए । ‘तर मलाई थाहा छ कि मेरो फिल्म पुरा परिवार एकै ठाउँ बसेर हेर्दछन् । जब म आफ्नो परिवारका साथ बसेर डीभीडीमा अंग्रेजी फिल्म हेर्थे, त्यो बेला त्यहाँ आएको चुम्बन तथा अन्तरंग दृश्यले सबै तितरबितर हुन्थे । मेरो आमा र बुबाको अगाडि चुम्बनको दृश्य हेर्दा आफैंलाई अप्ठ्यारो लाग्छ । यस्तो दृश्य आयो भने कि त फास्ट फरवार्ड गर्छु कि त कोठाबाट उठेर जान्छु’, उनले भनेका छन्, ‘त्यही भएर मैले परिवारले एकसाथ हेर्न नसक्ने र लजालु अनुभव गर्ने किसिमका कुनै पनि दृश्य नदिने निर्णय लिएँ ।’